फेरि उकालो लाग्दै कोरोना संक्रमण
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या उकालो लागेको छ । कोरोनाको दोस्रो लहर पिकमा पुगेर क्रमशः ओरालो लागिरहेकै समयमा दैनिक पहिचान हुने नयाँ संक्रमितको संख्या बढ्नु चिन्ताको विषय भएको जनस्वास्थ्यविद्हरु बताउँछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार दोस्रो लहर उत्कर्षमा पुग्दा वैशाख २८ गते एकैदिन ९,४८३ जनामा संक्रमण पुष्टि भएको थियो । सो दिन २१ हजार ३१६ नमुना परीक्षण भएको थियो । यसरी हेर्दा संक्रमण दर ४४.४९ प्रतिशत हो, जुन दोस्रो लहरकै उच्च हो ।
त्यसयता संख्यात्मक हिसाबले केही तलमाथि हुँदै संक्रमण विस्तारै ओरोलो लाग्यो र २० असारमा आइपुग्दा १,६०३ जना मात्र नयाँ संक्रमित थपिए । यो संख्या दोस्रो लहर उत्कर्षमा पुगेर ओरालो झर्ने संक्रमितको सबैभन्दा कम थियो ।
‘सरकारले निषेधाज्ञा खुकुलो बनाएपछि जनताले पनि कोरोना गयो भन्ने सोच्छन् । जनस्वास्थ्यका मापदण्ड पालनामा लापरबाही हुन जान्छ । त्यसको परिणाम स्वरुप संक्रमण बढ्न जान्छ । पछिल्लो तीन दिन यता संक्रमण बढ्नु पनि त्यसैको परिणाम हुन सक्छ’ संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला भन्छन् ।
तर पछिल्लो तीन दिनयता कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । असार २१ गते २,६२२ कोरोना संक्रमित थपिँदा त्यसको भोलिपल्ट २२ गते २,६३४ मा संक्रमण पुष्टि भयो । बुधबार नयाँ संक्रमितको संख्या २,९७९ पुगेको छ ।