कक्षा ११ को अन्तिम मूल्याङ्कन असार भित्र , १२ को परीक्षा भदौमा

बोलन्या थली | ५ असार २०७८, शनिबार
कक्षा ११ को अन्तिम मूल्याङ्कन असार भित्र , १२ को परीक्षा भदौमा

कक्षा ११ मा अध्ययनरत देशभरका विद्यार्थीको अन्तिम मूल्याङ्कन असारभित्र गरिसक्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । असारभित्र विद्यार्थीको मूल्याङ्कन सकेर साउनदेखि ती विद्यार्थीको कक्षा १२ को पठनपाठन सञ्चालन गर्न सकिने जानकारी बोर्डले दिएको छ । बोर्डले गत वर्ष नै कक्षा ११ को परीक्षाको कार्यविधि बनाएर मूल्याङ्कन गर्न सक्ने अधिकार विद्यालयलाई दिइसकेको छ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे निर्णय गरिने बोर्डले जनाएको छ । परीक्षा गत वर्षभन्दा फरक मोडालिटीमा गर्न बोर्डले गृहकार्य समेत थालेको छ । कक्षा १२ विद्यालय तहको अन्तिम परीक्षा भएकाले बिना परीक्षा विद्यार्थीको प्रमाणीकरण गर्न समस्या हुने भएकाले केही महिना पर्खेरै भए पनि पुरानै मोडेलबाट परीक्षा लिने बोर्डको तयारी छ । कक्षा १२ को अन्तिम परीक्षा सञ्चालनको सबै अधिकार बोर्डमा नै रहेको छ । विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि बाटोसमेत खुल्ने भएकाले कक्षा १२ मा परीक्षा लिनैपर्ने अवस्था रहेको जनाइएको छ ।

जनाअवजको टिप्पणीहरू