निषेधाज्ञाको समय दार्चुला सीमा नाकामा भीड
दार्चुला,१७ जेठ । दार्चुलामा जेठ २० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । यो अवधिमा अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक सेवा समेत बन्द गरिएका छन् ।
खाद्यान्न पसल, दुग्धजन्य, फलफूल तथा तरकारीका पसलहरू बिहान ५ बजेदेखि ९ बजेसम्म ४ घण्टा मात्रै खुल्ने गरेका छन् । निषेधाज्ञाको समयमा मानिसहरूको आवतजावतमा रोक लगाइएको छ ।
नेपाल सरकारले सुदूरपश्चिमका चार नाका मध्ये खलङ्गा पुलघाट नाकालाई पनि आवतजावतको लागि खुला गरेको छ । तर नेपाल–भारत जोड्ने उक्त सीमा नाकामा अहिले भिडभाड हुने गरेको छ । निषेधाज्ञाको उल्लङ्घन गर्दै सीमा नाकामा व्यापारी तथा स्थानीयहरूले भिडभाड गर्ने गरेका हुन् ।
‘एकातिर निषेधाज्ञा जारी छ अर्कोतर्फ यत्रो भीड ।’ सीमा नाकामा खटिएका एक प्रहरीले भने, ‘हामीले भीड नगर्नुस् भन्दा पनि लाम लागेर जमा हुन्छन् यसले हामीलाई थप चुनौती थपेको छ ।’ अहिले ठुला व्यापारीदेखि साना व्यापारीहरू सामान ल्याउन सेटिनमा पारी जाने गरेका छन् । उनीहरूले खाद्यान्नका साथसाथै अरू अन्य सामान पनि ल्याउने गरेको खुलेको छ ।
दार्चुलामा वैशाख २५ गतेबाट निषेधाज्ञा जारी हुँदा भारतले धारचुला बजार प्रवेश गर्न कोरोना रिपोर्ट माग्ने गरेको थियो । तर पछिल्लो समय मनपरी रूपमा आवतजावत गर्न दिँदा सीमामा भिडभाड भइरहेको छ । पारी जान पाइन्छ भनेर अहिले स्थानीयहरू समेत सीमामा जमा हुने गरेका छन् ।
सोमवार भारतले सीमा नाका एकतर्फी बन्द गरेपछि नेपालतर्फबाट भारतीय बजार जानेहरू बिच पुलमै केही समय अड्किएका समेत थिए । यसरी भीड बढ्दा कोरोना सर्ने जोखिम धेरै भएकाले आवतजावतमा रोक लगाइनुपर्ने धेरैको भनाइ छ ।