कोरोनाले श्रीमानको मृत्युपछि श्रीमतीले गरिन् आत्महत्या

बोलन्या थली | १६ जेष्ठ २०७८, आईतवार
कोरोनाले श्रीमानको मृत्युपछि श्रीमतीले गरिन् आत्महत्या

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ घर भएका सुरेश कठायतको कोरोना संक्रमणका कारण मृत्यु भएपछि श्रीमतीले पनि आत्महत्या गरेकी छन्।डडेल्धुरा  अस्पतालमा उपचार गराइरहेका कठायतको मृत्युको घोषणा पछि कठायतकी श्रीमती सरिता रावतले पासो लगाएर आत्महत्या गरेकी हुन्।

२९ वर्षका सुरेश कठायतको कोरोना संक्रमण पुष्टीपछि जिल्ला अस्पताल बाजुरामा उपचारका लागि भर्ना गरिएको थियो। आइसीयूमै राखेर उपचार गर्नु पर्ने भएपछि कठायतलाई जेठ २ गते डडेल्धुरा रिफर गरिएको थियो।

विगत १४ दिनदेखि डडेल्धुरा अस्पतालकै आइसीयूमा उपचार गराइरहेका कठायतको शनिबार विहान मृत्यु भएको थियो। निमोनियाका विरामी कठायतलाई कडा संक्रमणले च्यापेपछि आइसीयूमा राखिएको थियो।

डाक्टरले विहान ८ बजेपछि मृत्यु घोषणा गरेलगत्तै उपचारका लागिसँगै रहेकी कठायतकी श्रीमती सरिता रावत बेपत्ता भएको र साँझ अस्पताल नजिकैको जंगलमा झुण्डीएको अवस्थामा भेटिएको आफन्तले बताएका छन्।२८ वर्षकी सरिता रावत गाउँकै सरस्वती माविमा लेखापाल पदमा कार्यरत थिईन भने कठायत भर्खर मास्टर डिग्रीको पढाइ सकेर घर फर्किएका थिए। कठायत दम्पतीले गएको असोजमा विवाह गरेका थिए।

श्रीमानको मृत्युको पीडा सहन नसकेर श्रीमतिले आत्महत्या गरेको हुनसक्ने बुझीएको छ। उपचार अवधीभरसँगै रहेकी श्रीमतीले श्रीमान गुमाएर एक्लै बाँच्नुको अर्थ नरहेको निष्कर्ष सहीत आत्महत्या गरेको अनुमान गरिएको छ।ज्वरोसहितको लक्षण देखिएपछि कठायतलाई लामो समय घरमै राखिएको थियो। 

जनाअवजको टिप्पणीहरू