नरभक्षी बाघ नियन्त्रणमा ढिलाई भएपछि थप त्रास
कैलाली,४ फागुन । कैलालीमा रहेको नरभक्षी बाघलाई नियन्त्रणमा लिन ढिलाइ भएपछि स्थानीय थप त्रसित भएका छन् । बाघले मान्छेसमेत मारिसकेको अवस्थामा त्यसलाई नियन्त्रणमा लिन ढिलाई हुँदा त्यसले थप मानवीय क्षति गर्न सक्ने भन्दै बाघ देखिरहेको क्षेत्रका स्थानीय त्रसित भएका हुन ।
नरभक्षी बाघ गौरीगङ्गा नगरपालिकाको बढैपुर, राजिपुर, अण्डैया र कैलारी गाउँपालिकाको दुधिया, उदासीपुर लगायतमा रहेको सामुदायिक वनहरुमा घुमिरहेको छ । मान्छेको ज्यान लिइ सकेको बाघलाई नियन्त्रणमा लिन ढिलाइ भइरहेको स्थानीयले बताएका छन् ।
बाघको कारण पूर्वपश्चिम राजमार्गमा ओहोरदोहोर गर्नसमेत गाह्रो भएको हीरा चौधरीले बताइन् । ‘नरभक्षी बाघको कारण नियमित काममा जान पनि डर भइसकेको छ’, उनले भनिन् । शुक्रबारदेखि सो क्षेत्रमा बाघले आफ्नो ‘मुभमेन्ट’ बढाएको छ । मान्छे मारिसकेको सो बाघ नरभक्षी भइसकेको छ । आइतबार पनि गौरीगणेश सामुदायिक वन क्षेत्र, बढैपुर–उदासीपुर सडकखण्ड क्षेत्रमा बाघ देखिएको छ ।
नरभक्षी बाघका कारण मान्छेमा त्रास फैलिएपछि सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । बाघका कारण थप मानवीय क्षति हुन नदिनका लागि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।
‘बाघले थप मानवीय क्षति नगरोस भनेर बाघ प्रभावित क्षेत्रमा सुरक्षाकर्मी खटाइएको छ’, उनले भने । ‘तर, बाघ नियन्त्रण गर्ने निर्देशन हामीलाई आएको छैन । त्यो काम उपकरणसहितको प्राविधिक टोलीको हो ।’ यसैगरी, बाघले थप मानवीय क्षति पु¥याउन सक्ने अवस्थालाई मध्यनजर सामुदायिक वन समन्वय समिति मसुरियाले सो क्षेत्रमा जथाभावी हिडडुल नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।