कविता : यो भाव श्रद्धान्जली!

बोलन्या थली | १६ माघ २०७७, शुक्रबार
कविता : यो भाव श्रद्धान्जली!

वर्णन गर्न को सक्छ लेखी अहिले, ती वीरका बानीको
सुन्दैमा घत लाग्छ रे सब यहाँ, कथा नालापानीको
आइमाई र बाल-बृद्द सबले, सक्दो प्रयासै गरे
सातै दसकका बूढा लडी-खडी, ती भक्ति थापा मरे

रित्ता पारिदियो सबै शिव-हरे, सबका ती झोली हरु
केही पाएन खानलाई तिनले, खाए नि गोली बरु
त्यस्ता वीर सहिदलाई सबले, सम्मान गर्ने गरौँ
देशकै लागि लडौं सबै जन यहाँ, मर्नै परेमा मरौं

झुकेनन् कहिल्यै ती बैरी संग ता, आपत्ति पर्दा पनि
राखे नाम नेपालीको हरघडी, गोर्खाली वीर हूँ भनी
लेखी कत्ति नि काप्दैन लेखनी, पुर्खाहरुको कथा
हाम्रो शीर सधैँ उचो भैरहोस, जस्तो छ सगरमाथा

योद्धा हुन बलभद्र ता त्यति ठूला, को छन् नेपालै महाँ
विभूति हरुको बयान कति गरूँ, अहिले यो पत्रै महाँ
थापा अमर सिंह ले पनि हरे, दिए नि ज्यानको बलि
तिनै विभूतिलाई दिन्छु अहिले, यो भाव श्रद्धान्जली!

कोहीका छाती फुटे कम्मर पनि टुटे, सारा अपाङ्गै भए
कोही थाहा नपाउँदै ती बिचरा, त्यै बागमतिमा गए
काट्यो थ्याच्च गरी खुडा-खुकुरीले, दियो नि ज्यानको बलि
ज्ञात-अज्ञात सहिदलाई अहिले, यो भाव श्रद्धान्जली !

धर्मभक्त र शुक्रराज दुईको, झुन्ड्याउँदा लास त्यो
जनही लाई मरे भनी सब त्यहाँ, देखिन्थ्यो रे खास त्यो
त्यस्ता वीर महापुरुसहरुको, हुन्थ्यो कतिको बलि
ज्ञात-अज्ञात सहिद लेऊ अहिले, यो भाव श्रद्धान्जली !

दशरथ चन्द गए त्यहाँ यसरी, ती गंगालालै अनि
गोली खान तयार छौं भनिदिए, माफ माग भन्दा पनि
त्यस्ता वीर सपुतको दिनदिनै, हुन्थ्यो कतिको बलि
तिनै वीर सहिदलाई अहिले, यो भाव श्रद्धान्जली !

चेतराज ओझा
जोरायल गाउँपालिका-०३, डोटी

जनाअवजको टिप्पणीहरू