नेपालमा काेराेना संक्रमित निको हुने दर सार्कमै सबैभन्दा कम


काठमाडौँ : सार्क मुलुकमध्ये नेपालमा कोरोना लागेर निको हुने दर सबैभन्दा कम देखिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमित निको हुने दर ५६.६६ प्रतिशत छ । विज्ञहरूले यसलाई नराम्रो संकेतका रूपमा विश्लेषण गरेका छन् । निको हुने दर कम भएको र गम्भीर बिरामी थपिँदै गएकाले मृत्यु संख्या बढिरहेको छ ।
सार्क राष्ट्रमा श्रीलंकामा कोरोना निको हुने दर सबैभन्दा राम्रो ९४.८८ प्रतिशत देखिएको छ । छिमेकी भारत तेस्रो स्थान (७६.२१ प्रतिशत) मा छ । ‘उपचार प्रक्रियामा कमजोरी र संक्रमितको पहिचानको कमीले गर्दा नेपालमा कोरोना निको हुने दर सबैभन्दा कम छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुरले भने, ‘निको हुने दर बढ्नुपर्छ तर नेपालमा घट्दो छ । यो राम्रो लक्षण होइन, मुलुकमा भएको कोभिडसम्बन्धी खराब उपचार व्यवस्थाको प्रतीक हो ।’
नेपालमा कोभिडको मृत्युदर ०.५० प्रतिशत छ । सार्क मुलुकमा सबैभन्दा कम मृत्युदर माल्दिभ्स (०.३९ प्रतिशत) मा छ भने सबैभन्दा बढी अफगानिस्तानमा ३.६७ प्रतिशत छ । भारतमा मृत्युदर १.८४ प्रतिशत, बंगलादेशमा १.३४ प्रतिशत, पाकिस्तानमा २.१३ प्रतिशत र श्रीलंकामा ०.४० प्रतिशत छ । हालसम्म सार्क राष्ट्रमध्ये भुटानमा कोभिडले कसैको मृत्यु भएको छैन ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।