झापामा प्रहरीको गोली लागी एक जनाको मृत्यु


झापा : झापा गाउँपालिकामा बुधबार साँझ गोली लागेर घाइते भएका स्थानीय रसिक आलमको उपचारका क्रममा मृत्यु भएको छ । पेटमा गोली लागेका आलमलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पताल भर्ना गरिएको थियो ।
चिन्ताजनक अवस्थामा अस्पताल भर्ना गरिएका आलमको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका–३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाउँदा आलम घाइते भएका थिए ।
गोरु काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लैजान खोजिएपछि स्थानीयबासी आक्रमणमा उत्रिएको झापा गाउँपालिकाका प्रमुख जय नारायण साहले बताए ।
कामाटोली बजारमा गोरु काट्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका थिए ।
