सडक मानवविहीन अभियानमा जुटेकी २५ बर्षिया अभियन्ता सिर्जना !


धनगढी : भनिन्छ जीवन यात्रा हो, अनि यात्रा नै जिवन । जिवनमा धेरै युवाले आफ्नो करियर, पैसा र रमाइलो गर्ने सोच राखेर अघि बढेका हुन्छन् । त्यस्तै सपना बोकेर अघि बढेकी थिईन हेटौंडा उपमहानगरपालिका ५ कि २५ बर्षिया सिर्जना ओलि। सुरुमा सडकमा अलपत्र अवस्थामा रहेका असाहय, अशक्त, अपाङ्ग बालबालिकालाई केही सिकाउन्छु भनी भोलेन्टरको रुपमा २०७० सालमा मानवसेवा आश्रम मुख्य कार्यालय हेटौंडामा प्रवेश गरिन् । बिस्तार बिस्तारै मानव सेवामा पुर्ण रुपले सेवामा लाग्दै जादा जिवनमा मानव सेवा भन्दा अरु केही होईन भन्दै जिवनमा रमाइलो, पैसा ,करियर र परिवार सब थोक भुल्दै उनको मनमा एउटै रह्यो मानव सेवा ।

उनको घरपरिवारको सोच थियो, छोरी पढेर राम्रो जागिर गर्ला र घरपरिवार खुसी होला ।तर उनको जिवनमा त्यो यात्रा जागिर गर्ने सोच छोडेर मानव सेवाको यात्रामा लागिन । घर परिवारमा थप चिन्तित बनाइन् । ‘घरमा सुरुवातको समयमा कुरा बुझ्नुहुँदैन थियो ,पढेको मान्छे जागिर गर्नुपर्छ भन्नुहुन्थ्यो तर बिस्तारै मान्नुभयो’, उनले भनिन् – `सुरुमा आश्रममा काम गर्दा खुसी लाग्थ्यो भने अर्को तिर समाजले के सोच्ला भनेर पनि मन डर लागिरहन्थ्यो ।’ घरपरिवारको साथ नभएको भए यसरी सेवालाई निरन्तरता दिनु, त्यसमा पनि हाम्रो समाजमा छोरी मान्छेलाई कल्पना भन्दा बाहिरको कुरा हो, उनले बताइन् । ‘सुरुवातका दिन एकदमै चुनौतीपूर्ण रह्यो । मुठ्ठी उठाउन टोल टोलमा जान्थ्यौँ । कति जनाले अपशब्द बोल्थे, नमिठो वचन लगाउन्थे तर अहिले आएर हाम्रो कामलाई हाम्रो समाजले राम्रो महशुस गर्न थालेको छ । धेरैबाट प्रेरणा मिलेको छ । अहिले म एकदम खुसी छु ।’

उनी अहिले दुई बर्ष देखि मानवसेवा आश्रम कर्णाली प्रदेशको सुर्खेतको संयोजक रहेकी छिन् । परोपकारी संस्था मानवसेवा आश्रम सुर्खेतले सडकमा अलपत्र परेका असाहय व्यक्तिहरूको उद्धार गरी आश्रममा संरक्षण गर्ने, पालनपोषण गर्ने तथा परिवार भएमा पारिवारिक पुनर्मिलन गराउने काम गर्दै आएको छ । मानव सेवा आश्रमले ७ वटै प्रदेशमा मानव सेवा आश्रमको प्रदेशस्तरीय आश्रम स्थापना गर्दै २०८२ सालकसम्म सडक–मानवविहीन नेपाल घोषणा गर्ने गरी अभियान अगाडि बढाइरहेका छ।
