आलितालमा काटिएका रुखको काठ प्रदेशसभा सांसद जोशीका स्वकीय सचिवको घरबाट बरामद
बोलन्या थली |
९ भाद्र २०७७, मंगलवार
डडेल्धुराको आलिताल गाउँपालिका–८ मा निर्माण भइरहेको डोला चक्रपथमा वन फडानी गरी संकलन गरिएको काठ सुदूरपश्चिम प्रदेशसभा सांसद कुन्ती जोशीका स्वकीय सचिवको घरबाट बरामद भएको छ ।
वडा नं ८ मा रहेको स्वकीय सचिव धर्मानन्द जोशीको घर आँगनबाटै काठ बरामद गरिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख डबलबहादुर बोहराले बताए ।
उनले भने ,‘केही दाउरा टाइपको छ, २ फिट मुनीको, केही थान चिरान काठ बरामद गरिएको छ । त्यो काठ डोला चक्रपथकै हो कि होइन भन्ने बिषयमा अध्ययनपछि मात्रै थाहा हुन्छ ।’ वन क्षेत्रबाट ३० गोलीया काठ थप वरामद गरिएको बोहराले बताए ।
यसअघि नै सडक निर्माणका क्रममा काटिएका १ सय १० थान गोलिया काठ बरामद भइसकेको छ । सुदूरपश्चिम प्रदेशसभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले डोला चक्रपथ सडक निर्माणका क्रममा अन्धाधुन्ध सालका रूखहरू काटिएको विषयमा अध्ययन गरि काठ तस्करी गर्ने नियतले चक्रपथ निर्माण सुरु गरिएको निष्कर्ष निकालिसकेको छ ।
अध्ययनका क्रममा जंगलमा चक्रपथ सडक निर्माण गर्न आवश्यक नदेखिएको र रूख काटेर तस्करी गर्न नियोजित रूपमा सडक निर्माण गरिएको संसदीय समितिको ठहर छ ।


