आलितालमा काटिएका रुखको काठ प्रदेशसभा सांसद जोशीका स्वकीय सचिवको घरबाट बरामद


डडेल्धुराको आलिताल गाउँपालिका–८ मा निर्माण भइरहेको डोला चक्रपथमा वन फडानी गरी संकलन गरिएको काठ सुदूरपश्चिम प्रदेशसभा सांसद कुन्ती जोशीका स्वकीय सचिवको घरबाट बरामद भएको छ ।
वडा नं ८ मा रहेको स्वकीय सचिव धर्मानन्द जोशीको घर आँगनबाटै काठ बरामद गरिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख डबलबहादुर बोहराले बताए ।
उनले भने ,‘केही दाउरा टाइपको छ, २ फिट मुनीको, केही थान चिरान काठ बरामद गरिएको छ । त्यो काठ डोला चक्रपथकै हो कि होइन भन्ने बिषयमा अध्ययनपछि मात्रै थाहा हुन्छ ।’ वन क्षेत्रबाट ३० गोलीया काठ थप वरामद गरिएको बोहराले बताए ।
यसअघि नै सडक निर्माणका क्रममा काटिएका १ सय १० थान गोलिया काठ बरामद भइसकेको छ । सुदूरपश्चिम प्रदेशसभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले डोला चक्रपथ सडक निर्माणका क्रममा अन्धाधुन्ध सालका रूखहरू काटिएको विषयमा अध्ययन गरि काठ तस्करी गर्ने नियतले चक्रपथ निर्माण सुरु गरिएको निष्कर्ष निकालिसकेको छ ।
अध्ययनका क्रममा जंगलमा चक्रपथ सडक निर्माण गर्न आवश्यक नदेखिएको र रूख काटेर तस्करी गर्न नियोजित रूपमा सडक निर्माण गरिएको संसदीय समितिको ठहर छ ।