कर्मचारीद्धारा कान्तिपुर टेलिभिजनविरुद्ध आन्दोलनको चेतावनी

बोलन्या थली | २ भाद्र २०७७, मंगलवार
कर्मचारीद्धारा कान्तिपुर टेलिभिजनविरुद्ध  आन्दोलनको चेतावनी

काठमाडौं, भदौ २ । कोरोना भाइरसको महामारीका समयमा पनि अग्रपङ्तिमा रहेर काम गरिरहेका कर्मचारीहरुलाई प्रोत्साहन गर्नुको सट्टा व्यवस्थापनको नाममा रोजगारीबाट हटाएको भन्दै कान्तिपुर टेलिभिजनविरुद्ध कर्मचारीहरुले आन्दोलनको चेतावनी दिएका छन् । कान्तिपुर टेलिभिजन कर्मचारी संघले आज एक विज्ञप्ति जारी गर्दै अन्यायपूर्ण ढंगले जागिरबाट निकाल्ने निर्णय २४ घण्टाभित्र फिर्ता लिन चेतावनी दिएको छ ।

फिर्ता नलिए बाध्यात्मक आन्दोलनका कारण सिर्जना हुनसक्ने घटना र परिणामबारे व्यवस्थापन आफैं जिम्मेवार हुने संघले चेतावनी दिएको छ ।

कान्तिपुर टेलिभिजन कर्मचारी संघले सोमबार विज्ञप्ति निकालेर, हाल कोरोना भाइरसको महामारीका समयमा पनि अग्रपङ्तिमा रहेर काम गरिरहेका कर्मचारीहरुलाई प्रोत्साहन गर्नुको सट्टा व्यवस्थापनको नाममा वर्षौदेखि कार्यरत कर्मचारीहरुलाई जागिरबाट हटाउन खोजेको संघले आरोप लगाएको छ ।

कान्तिपुर टेलिभिजन कर्मचारी संघका कार्यवाहक महासचिव राजन तामाङ, केन्द्रीय सदस्य प्रकाश थापा र रवीन्द्रध्वज शाहलाई एचआर प्रमुख र स्टेसन म्यानेजरबाट धम्कीपूर्ण भाषामा रोजगारीबाट निष्काशन भएको र अरु कर्मचारीलाई पनि भेदभावपूर्ण रुपमा नामावली तयारगरी रोजगारीबाट हटाउने भन्दै मौखिक जानकारी गराइएकोप्रति संघले कडा आपत्ति प्रकट गरेको छ ।

जनाअवजको टिप्पणीहरू