मिडिया विधेयक संशोधनको माग गर्दै पत्रकार महासंघ सुदूरपश्चिमले प्रदेश सभामुखलाई ज्ञापनपत्र
धनगढी : सुदूरपश्चिम प्रदेश सभाबाट पारित गरेको मिडिया विधेयक संशोधनको माग गर्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितिले प्रदेश सभामुखलाई ज्ञापनपत्र बुझाएको छ । महासंघ सुदूरपश्चिम प्रदेश समितिले सभामुख अर्जुन बहादुर थापालाई आइतबार ज्ञापनपत्र बुझाएको हो ।
नेपाल महासंघले बिधेयकमा रहेका केही दफाहरुमा गम्भीर आपत्ति जनाएको छ । महासंघको सुदुरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावलले स्रोतबाट आएको खबर पुष्टि गरेर मात्रै प्रशारण गर्ने भन्ने वाक्यांशले स्वतन्त्रतापूर्वक लेख्न पाउने अधिकारमाथि प्रश्न उठाएकोले सो दफानै हटाउन माग गरिएको बताएका छन ।
यस्तै मन्त्रालयले नियमावली बनाएर ऐनमा भएका केही बुँदा कार्यान्वयन गर्न खोजेकोले संघमा प्रेस काउन्सिल जस्तै अधिकार सम्पन्न स्वतन्त्र निकाय गठन हुनुपर्ने आफुहरुको माग रहेको महासचिव रावलले बताए ।
ज्ञापनपत्र बुझ्दै सभामुख थापाले पत्रकार महासंघले उठाएका बिषयबस्तुमा विधेयक संशोधन गर्न सकिने र आफुले भूमिका खेल्न आश्वासन दिए ।
महासंघले सभामुख थापासंगै प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता रण बहादुर रावल, सत्तापक्षीय प्रमुख सचेतक तारा लामा तामाङ र विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीलाई पनि ज्ञापनपत्र बुझाएको छ ।
सुदुरपश्चिम प्रदेशमा रहेका नेपाल पत्रकार महासंघ जिल्ला शाखाहरुले पनि जिल्ला प्रशासन मार्फत एफएम, रेडियोे तथा टेलिभिजन प्रशारण सम्बन्धी बिधेयक संशोधनको माग गर्दै सभामुखलाई ज्ञापनपत्र बुझाई सकेका छन ।