रूसले बनाएको कोरोनाविरूद्धको भ्याक्सिन एकपटक लगाएपछी कम्तीमा २ वर्षसम्म ढुक्क
एजेन्सी,
रूसले कोरोना भाइरस विरूद्धको भ्याक्सिन उत्पादन सुरू गरिसकेको छ । मंगलबार सार्वजनिक भ्याक्सिनबारे सर्वत्र चासो र शंका उब्जिरहेका वेला एक रूसी अधिकारीले यस भ्याक्सिन लगाएपछि कम्तीमा २ वर्षसम्म ढुक्क हुन सकिने बताएका छन् ।
रुसी न्यूज एजेन्सी टीएसएसएसका अनुसार गामेलिया अनुसन्धान केन्द्रका निर्देशक अलेक्जेन्डर गिन्टसवर्गले रुसको कोरोना भ्याक्सिनको असर मात्र ६ महिना वा एक वर्षको मात्र नहुने र यसले दुई वर्षसम्म भाइरसबाट टाढा राख्ने दाबी गरेका हुन् ।
रुसी स्वास्थ्य अधिकारीहरुले यो संसारकै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन भएको र यसको पहिलो ब्याच दुई हप्तामा आउने बताएका छन् ।
त्यहाँका राष्ट्रपति भ्लादिमीर पुटिनले रुसी कोरोनाविरुद्धको भ्याक्सीन विश्वमै पहिलो भ्याक्सिन बनाएको दाबी गरेका थिए । यसको नाम पनि विश्वकै सबैभन्दा पहिलो भूउपग्रह स्पुत्निक फाइभको सम्मानमा ‘स्पुत्निक’ राखिएको छ । रुसी भाषामा स्पुत्निक भनेको भूउपग्रह हो ।
पुटिनले आफ्नी छोरीले पनि उक्त भ्याक्सिन लगाएको बताउँदै यो सुरक्षित रहेको दाबी गरेका छन् ।