१६ किलो मल लिन १० घण्टा लाइन

बोलन्या थली | २९ श्रावण २०७७, बिहीबार
१६ किलो मल लिन १० घण्टा लाइन

सिन्धुली, २९ साउन । धान बालीमा हाल्न युरिया मलको जोहो गर्न सिन्धुलीका किसान ज्यान जोखिममा राखेर लागी परेका छन्। बुधबार साल्ट्रेडिङको युरिया मल सिन्धुली आइपुगेको थाहा पाएपछि सयौं कृषक मल लिन लाइनमा लागेका हुन्।

जयबागवानी कृषि सहकारी संस्थाले ४ सय २० बोरा मल बिक्री गरेको थाहा पाएपछि जम्मा भएका कृषकले कोरोनाको प्रवाह नै नगरी भीडमा लाइन बसेका हुन्। सयौंको संख्यामा रहेका कृषकको भीडले ८ देखि १० घण्टासम्म उभिएरै लाइन बस्दा जम्मा १६ किलो मल पाएका छन्।

मल लिन तछाडमछाड नै भएपछि केही समय तनावग्रस्त अवस्थासमेत सिर्जना भएको प्रहरी जनाएको छ। मल थोरै आएको तर कृषकको माग धेरै भएपछि ५० केजीको एक बोरा मललाई भाग लगाएर तीन जना किसानलाई बिक्री गरिएको जयबागवानी कृषि सहकारी संस्थका प्रबन्धक सुवर्णराज न्यौपानेले जनाए।
झण्डै साढे तीन महिनापछि जिल्लामा मल आएकोले संक्रमणको बेवास्ता गरेर मलको जोहो गर्नु परेको कृषकको गुनासो छ। सरकारले किसानलाई बेवास्था गरेका कारण यस्तो अवस्था आएको उनीहरुको भनाइ छ।

कमलामाई नगरपालिका ६ अँधेरीकी ६५ वर्षीया वृद्धा सुन्तली नेपालीले ८ घण्टा उभिएर लाइनमा बस्दा जम्मा १६ किलो मल पाएको गुनासो गरिन्। उनले भनिन्, ‘मल नहाले धान फल्दैनन। धान नफले के खाने के गर्ने हो। मल लिन आयो। यत्रो दुख छ। त्यो पनि पुग्ने गरी पाइएन।’ यो खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

जनाअवजको टिप्पणीहरू