आर्थिक वर्ष २०७६/७७ मा सुदूरपश्चिम प्रदेशमा ५५१ जनाले गरे आत्महत्या

बोलन्या थली | २७ श्रावण २०७७, मंगलवार
आर्थिक वर्ष २०७६/७७ मा सुदूरपश्चिम  प्रदेशमा ५५१ जनाले गरे आत्महत्या

सुदूरपश्चिम प्रदेशभित्र आत्महत्याको डरलाग्दो तथ्यांक प्रहरीले उपलब्ध गराएको छ । आर्थिक वर्ष २०७६/७७ को तथ्यांक हेर्दा सुदूरपश्चिम प्रदेशमा ५ सय ५१ जनाले आत्महत्या गरेका छन् । यो संख्या अघिल्लो वर्षको भन्दा ७३ ले बढी हो । प्रहरीसँग रहेको बिगत पाँच वर्षको तथ्यांक अनुसार यस प्रदेशमा आत्महत्या गर्नेको संख्या बर्सेनि बढ्दै गएको छ ।

झुण्डिएर आत्महत्या गर्नेको संख्या झण्डै ७५ प्रतिशत अर्थात चार सय १३ छ । यस्तै विष सेवन गरेर एक सय २३, हाम फालेर ९, पानीमा हाम फालेर ५ र हातहतियार तथा औजारको प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा दुई सय ६३ जना महिला र दुई सय ८८ जना पुरुष छन् । जसमा ६७ बालबालिकाहरु समेत रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

आत्महत्या गर्नेहरुमा सबैभन्दा बढी कैलाली जिल्लाका छन् । यस जिल्लामा एक वर्षमा २ सय २३ जनाले आत्महत्या गरेका छन् । कैलालीमा झुण्डिएर एक सय ७९ र विष सेवन गरेर ४४ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७५/७६ मा यस जिल्लामा एक सय ९८ जनाले आत्महत्या गरेका थिए । यस्तै कञ्चनपुरमा एक सय ५८ जनाले आत्महत्या गरेका छन् । यस जिल्लामा झुण्डिएर ९६ र विष सेवन गरेर ६२ जनाले आत्महत्या गरेका छन् । २०७५/७६ मा यो जिल्लामा एक सय ३३ जनाले आत्महत्या गरेका थिए । प्रदेशका सात पहाडी जिल्लाहरुमध्ये आत्महत्याका घटना सबैभन्दा बढी डोटीमा भएका छन् । यस अवधिमा डोटीमा २० पुरुष र ११ महिला गरी ३१ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा चार बालबालिका समेत छन् । २०७५/७६ मा डोटीमा २८ जनाले आत्महत्या गरेका थिए ।

यस्तै बझाङ जिल्लामा १७ महिला र १० पुरुष गरी २७ जनाले आत्महत्या गरेका छन् । २०७५/७६ मा यस जिल्लामा आत्महत्या गर्नेको संख्या १२ मात्रै थियो । डडेल्धुरामा १४ पुरुष र ९ महिला गरी २३ जनाले आत्महत्या गरेका छन् । डडेल्धुरामा २०७५/७६ को भन्दा गत वर्ष आत्महत्याका घटना कम भएका छन् । २०७५/७६ मा ३२ जनाले आत्महत्या गरेका थिए । अछाममा १२ पुरुष र ११ महिला गरी २३ जनाले, दार्चुलामा ११ पुरुष र १२ महिला गरी २३ जनाले, बाजुरामा २१ जनाले र बैतडीमा ७ पुरुष र १५ महिला गरी २२ जनाले आत्महत्या गरेका छन् । सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ सम्म दुई हजार तीन सय ८८ जनाले आत्महत्या गरेका छन् ।

यो डरलाग्दो तथ्यांक भएको समाजसेवीहरु बताउँछन् । आर्थिक वर्ष २०७२/७३ मा यस प्रदेशमा ४५६ जनाले आत्महत्या गरेका थिए । २०७३/७४ मा यो संख्यामा थोरै कमी आएको देखिन्छ । त्यस आर्थिक वर्षमा चार सय ३६ जनाले आत्महत्या गरेका थिए । २०७४/७५ मा चार सय ७०, २०७५/७६ मा चार सय ७५ र गत आर्थिक बर्षमा पाँच सय ५१ जनाले आत्महत्या गरेका छन् ।

जनाअवजको टिप्पणीहरू