डोल्पामा बिरामीलाई जाँच गर्न नपाएपछि चार दिन हिँडेर मुगु बिरामी जाँच्दै डा. केसी
![](https://bolanyathali.com/wp-content/themes/bolanya/img/bolanya-face-sm.png)
![डोल्पामा बिरामीलाई जाँच गर्न नपाएपछि चार दिन हिँडेर मुगु बिरामी जाँच्दै डा. केसी](https://bolanyathali.com/wp-content/uploads/2020/08/thumb.jpeg)
मुगु — डा. गोविन्द केसी मुगु जिल्ला अस्पताल ठिनी पुगेर बिहीबारदेखि बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिरहेका छन् । उनी जुम्लाको खलंगा बजारबाट हिँडेरै मुगु आइपुगेका हुन् ।
केसीले विशेष गरी हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी सेवा दिएका छन् । केसीसँग स्वास्थ्य जाँच गर्न विभिन्न स्थानबाट मानिसहरू पुगेका छन् ।
‘मलाई घुँडा दुख्ने समस्या थियो, त्यही डा. केसीसँग जाँच गराउन आएँ,’ श्रीनगर गाउँका मोहनकुमार मल्लले भने, ‘हड्डी फ्याक्चर भएको रहेछ ।’
अस्पतालमा कार्यरत चिकित्सकहरूले पनि केसीसँग हाडजोर्नी उपचारसम्बन्धमा सल्लाह–सुझाव लिएका थिए । डा. केसी आउने खबर पाएपछि हड्डीसम्बन्धी भएकालाई लक्षित गरी सार्वजनिक सूचना जारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख निर्मल नगरकोटीले बताए । उनका अनुसार केसीले बिहीबार ४७ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । केसीले मुगु अस्पतालमै बसेर करिब तीन दिन सेवा दिनेछन् ।
यसअघि उनले हुम्लाको अदानचुली गाउँपालिका पुगेर करिब डेढ सय स्थानीयको स्वास्थ्य परीक्षण गरेका थिए । अदानचुलीबाट फेरि बाजुरा, कालिकोट, जुम्ला पुगेर सेवा दिएका थिए । जुम्लाबाट दुई दिन हिँडेर जगदुल्ला गाउँपालिका पुगेका उनी त्यहाँ शिविर गर्न नपाएपछि चार दिन हिँडेर मुगु आइपुगेका हुन् । कान्तिपुरबाट
![](https://bolanyathali.com/wp-content/uploads/2024/09/maya-metro_0_20230425175647.gif)