कञ्चनपुरमा दैजी औद्योगिक क्षेत्र स्थापनाका लागि बाटो खुल्यो
बोलन्या थली |
२० श्रावण २०७७, मंगलवार
कञ्चनपुर । सुदूरपश्चिमको गौरबको आयोजनाको रुपमा रहेको दैजी औद्योगिक क्षेत्र आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) वातावरण मन्त्रालयबाट स्वीकृत भएको छ।
बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले वातावरणीय प्रभाव मूल्यांकन वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले स्वीकृत गरेको बताए। यो सँगै औद्योगिक क्षेत्रको काम अघि बढाउन बाटो खुलेको छ।
मेयर चन्दले लामो प्रयासपछि औद्योगिक क्षेत्र आयोजनाको काम अघि बढाउने बाटो खुलेको बताए। गत मंसिरमा मन्त्रालयमा वन तथा वातावरण महाशाखाका प्रमुख यज्ञनिधि दाहालको अध्यक्षतामा बसेको बैठकमा वातावरणीय प्रभाव मूल्यांकन फाइल पेश भएको थियो।
एक बर्ष पहिला मन्त्री बस्नेतले कार्यसूची र सन्दर्भका सर्तहरु स्वीकृत गरेका थिए। दैजी औद्योगिक क्षेत्र यस बर्षको बजेटमा समेत समेटिएको छ। २ सय ९३ बिगाहा क्षेत्रफलमा स्थापना हुने सो औद्योगिक क्षेत्र आयोजना भदौ महिनामा शिलान्यास गर्ने कार्यक्रम रहेको छ।


