डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते, ४ जनाको अवस्था गम्भीर
बोलन्या थली |
१८ श्रावण २०७७, आईतवार
डडेल्धुरा : डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। महाकाली राजमार्गअन्तर्गत अमरगढी नगरपालिका ७ स्थित पोखरा खानेपानी मोड नजिकै धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ज १११५५ नम्बरको जिप आइतबार बिहान करिब १ बजे दुर्घटना भएको डडेल्धुरा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
घाइते हुनेमा बझाङ केदारसिउ गाउँपालिका ४ बागथलाका ३२ वर्षीय बिभु प्रकाश भट्ट, सोही ठाउँका ४५ वर्षीय मानबहादुर मल्ल, ३५ वर्षीय रवीन्द्र मल्ल, १२ वर्षीया सम्पदा मल्ल, १२ वर्षकै विवेक मल्ल, सोही ठाउँका ४२ वर्षीया यशोदा मल्ल, ५० वर्षीया सरस्वती मल्ल घाइते भएका छ्न ।
यस्तै बझाङ बङ्गल नगरपालिका ४ का जिप चालक ३२ वर्षीय अम्मर विक पनि घाइते भएको डीएसपी न्यौपानेले जानकारी दिए।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। उनीहरूलाई थप उपचारको लागि धनगढी रेफर गरिएको छ। अन्य घाइतेहरूको डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।


