कैलालीको बाढीमा बेपत्ता भएका थप एक जनाको शव फेला


कैलाली । कैलालीमा मंगलबार रातीको अविरल वर्षासँगै आएको बाढीमा बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ। बाढीमा बेपत्ता भएका भजनी नगरपालिका ८ का ४० वर्षीय ईश्वर शाहको शव शुक्रबार फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।
उनका अनुसार शाहको शव बेपत्ता भएको ठाउँबाट १ किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा फेला परेको हो । बुधबारको बाढीमा बेपत्ता भएका तीन जना मध्ये बिहीवार भजनी नगरपालिकाको जनकपुरका ११ वर्षीय स्केल चौधरीको शव भेटिएको थियो ।
अझै भजनी नगरपालिका ८ का चक्र बिक भने बेपत्ता नै रहेको प्रहरी प्रबक्ता बिष्टले जानकारी दिए ।