निर्मला हत्या प्रकरणको दुई बर्ष पुरा


कञ्चनपुर। साथीको घरमा गृहकार्य गर्न गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज दुई वर्ष पूरा भएको छ । तर अझै पनि घटनाका दोषीको पहिचान हुन सकेको छैन । पीडितले न्याय पाउन सकेका छैनन् । घटनामा संलग्न दोसी पत्ता लगाउन नसक्दा परीवारमा समेत न्याय पाउने आशा समेत समाप्त भएको परिवारले जनाएको छ ।
निर्मलाको शव भेटिएको स्थान वरपर उनले प्रयोग गर्ने साइकल, साइकलको हेन्डिलको रड, बायाँ खुट्टाको चप्पल, ३ वटा कापी र कालो पोलिथिनमा अम्बा भेटियो । प्रहरी हत्याराको खोजीमा लाग्यो । तर दुई वर्ष पूरा हुँदा पनि हत्याराको पहिचान हुन सकेन ।
स्वर्गीय बालिका निर्माला पन्तकि आमा दुर्गा देवी पन्तले दुई बर्ष बित्दापनि अब न्याय पाउने आशै मरेको बताईन । उनले भनिन् ‘घटना भएको दुईवर्ष पुरा भयो, धेरै आन्दोलन भए अनुसन्धान भए,हत्याराको सुइकोसम्म पाएनन् ,अब त न्याय पाउने आशैँ छैन।’ देश विदेशमा चर्चाको विषय बनेको यो प्रकरण अझै कहिलेसम्म रहने हो, अहिले नै भन्न सकिने अवस्था छैन ।अधिकारकर्मी, विभिन्न संघसंस्था, राजनीतिक दल सबैले विभिन्न आन्दोलन गरे । तर पनि अझै हत्यारा उम्कन सकेन् ।
दुईवर्ष सम्म पनि प्रहरीले खासै उपलब्धी गर्न नसेका बेला घटनाकोे अहिलेपनि शुक्ष्म अनुसन्धान गरिरहेको दाबी गर्दै आईरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख मुकुन्द मरासीनीले अहिलेसम्म घटनाको कुनै टुंगो नलागेको तर अनुसन्धान भइरहेको दावी गर्दै आईरहेका छन ।
एसपी मरासीनीले भने,‘ निर्मला घटनालाई हामीले पहिलो प्राथमीकतामा राखेर अनुसन्धान गरिरहेका छौ। यस घटनाले संगठन नै चिन्तित बनेको बताउदै निष्र्कषमा पुग्नेगरी अनुसन्धान भइरहेको छ ।’
त्यसयता प्रहरीले बलात्कार तथा हत्याको आशंकामा अनुसन्धानका लागि लिएका स्केच नमिलेको प्रहरीले जनाएको छ ।कुनै व्यक्तिमाथि कसैले शंका गर्दा प्रहरीले त्यसमा सूक्ष्म निगरानी राखी स्केच बनाएरै अनुसन्धान गर्दै आएको जनाएको छ तर हालसम्म कसैको पनि स्केच म्याच भएको छैन । हालसम्मको अनुसन्धानका क्रममा प्रहरीले करिब डेढ दर्जन व्यक्तिको स्केच बनाइसकेको छ भने हत्याको आशंकामा १ हजार भन्दा बढीलाई सोधपुछ गरिसकेको छ ।
अहिले पनि बलात्कार तथा हत्याबारे अनुसन्धान गर्न कञ्चनपुर पुगेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीसहित स्थानीय प्रहरी टोली र स्केच बनाउन खटिएको विशेष टोलीले संयुक्त रूपमा हत्या प्रकरणको अनुसन्धान जारी राखेको जनाउँदै आएको छ ।समय जति घर्किंदै गईरहेको छ घटना पनि सेलाउँदै गएको छ ।
घटना भएको एक महिनापछि भदौ ४ मा जिल्ला प्रहरी कार्यालयले भीमदत्तनगरपालिका –१९ बागफाटाका मानसिक अवस्था ठिक नभएका दिलिप विष्टलाई सार्वजनीक गर्यो । बिष्टलाई सार्वजनिक गरे लगत्तै निदोर्षलाई फसाउन खोजिएको आरोपमा कञ्चनपुरमा ठुलै आन्दोलन चर्किर्यो ।
आन्दोलनकै क्रममा प्रहरीले भदौ ८ गते प्रहरीले आत्तिएर गोली चलाउन पुग्यो । अन्ततः प्रहरीको गोली लागेर भिमदत्त नगरपालिका–१८ शालघारीका शनि खुनाले ज्यान गुमाएका हुन ।
‘निर्मलाका निम्ति न्याय’ अभियान देशब्यापी रुपमा फैलिए पनि अहिले यो पनि निश्क्रिय जस्तै छ ।निर्मला काण्डले थुप्रै घटना परिघटनाहरु जन्माए र अस्ताए तर पनि घटना रहस्यको गर्भमै लुकेको छ ।
२ वर्ष बितिसक्दा समेत अपराधी सार्वजनिक गर्न नसक्दा सिंगो प्रहरी प्रशासनमाथि नै कालो धब्बा लाग्न थालेको छ । प्रहरीमाथि घटनाको प्रमाण नष्ट गरेको, सज्जन ब्यक्तिलाई अपराधी घोषणा गरेको, बर्खास्तीमा परेका प्रहरीहरुमाथि गहिरो अनुसन्धान नगरेको लगायतका आरोपहरु लाग्दै आएका छन् ।
यससँगै अर्को गम्भिर प्रश्न पनि उठेको छ , के अब निर्मला पन्तले न्याय पाउँछिन् । प्रहरीकै साख धुमिल पारेको यो घटना अनुसन्धानका लागि नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेस थापा क्षेत्रीले चासो देखाएका छन्। यो घटनालाई आफ्नो प्राथमिकतामा राख्दै आईजीपी क्षेत्रीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख डीआईजी सहकुल थापा र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, डीआईजी उत्तमराज सुवेदीलाई निर्देशन दिएका छन्।
छानबिन समितिको सुझावकै आधारमा तत्कालीन एसपी डिल्लीराज विष्टसहित आठ प्रहरीलाई निलम्बन गरियो। प्रमाण नष्ट गरेको र यातना कसुरमा चलेको उनीहरुविरुद्धको मुद्दा कञ्चनपुर जिल्ला अदालतमा विचाराधीन छ।त्यस वेला प्रहरीले डीएनए परीक्षणमा मात्र केन्द्रित भएर अनुसन्धान गरेपछि यो घटना जटिल बनेको धेरैको बुझाई छ।
डीएनए मेल नखाएकै कारण यो घटनाका आरोपीका रुपमा पक्राउ परेका दिलीपसिंह विष्ट रिहा भएका थिए। त्यसपछिका हरेक अनुसन्धानमा प्रहरीले कैयौंको डीएनए परीक्षण ग¥यो। तर, त्यसबाट केही नतिजा प्राप्त भएन।
अनुसन्धानका क्रममा कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख, एसपी डिल्लीराज विष्टसहित उनका छोरा किरण र अर्का युवक आयुश विष्टको पनि डीएनए परीक्षण गरिएको थियो। ०७५ साउन १० मा साथीको घर जान भन्दै हिँडेकी निर्मलाको ११ साउनमा घर नजिकैको उखुबारीमा शव भेटिएको थियो ।