‘लक डाउन’ हटेसँगै सडकमा सवारी साधनको चाप बढ्यो


कञ्चनपुर । सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दी अन्त्यको घोषणा भएसँगै धनगढी पनि चहलपहल बढेको छ।सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा सवारी साधन निर्बाध रूपमा चलेसँगै चहलपहल बढेको हो।
यसअघि असार १ गते सरकारले लकडाउन खुकुलो बनाउँदै निजी सवारीसाधन जोरबिजोर प्रणाली कार्यान्वयनमा ल्याएको थियो । तर त्यो प्रणाली हटेसँगै बुधवार देखि सम्पूर्ण सवारी साधन चल्न थालेका छन् ।
यसले गर्दा फेरि धनगढीका मुख्य सडकहरूमा सवारी साधनको भिडभाड बढेको छ । सार्वजनिक यातायात र जोर बिजोर प्रणाली हटेसँगै सडकमा सवारीसाधनको चाप देखिदा कारोनाको फेरि उच्च जोखिम बढ्ने सर्वसाधरणहरुले बताउँदै आएका छन् । नेपाल लगायत छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेकै बेला यसरी सवारी साधन सञ्चालन गर्नु उचित नभएको धनगढीका स्थानीय गणेश विनाडीले बताए ।
सरकारले लकडाउन अन्त्य गरे पनि अव नागरिकहरुले नै सचेत भएर आफ्नो सुरक्षा आफै गर्नु पर्ने उनको सुझाव छ । कोरोनाको सङ्क्रमण फैलिएकै बेला सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्न नहुने अर्का धनगढीकै अर्का स्थानीय रोहित बि.सीले बताए ।
एकातिर कोरोना भाइरस सङ्क्रमणको जोखिम हटिसकेको छैन भने अर्कोतिर सडकमा चाप बढेपछि कोरोना सङ्क्रमण फेरी तीव्र रूपमा बढ्न सक्ने विज्ञहरू बताउँदै आए पनि सरकारले गलत निर्णय गरेको उनको भनाई छ ।
यसरी सडकमा सवारी साधनको चाप बढ्न थालेपछि ट्राफिकलाई समेत व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ । एक सय २० दिन लामो बन्दाबन्दीको अन्त्यसँगै मङ्गलवार मध्यरातदेखि लकडाउन खुलेको हो।
बुधवार सम्म सुदूरपश्चिम प्रदेशमा ४ हजार १ सय ४२ जनामा कोरोना पुष्टि भएको छ जसमध्ये २ हजार २ सय ३३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किए छन् भने आँठ जनाले कोरोनाकै कारण प्रदेशमा ज्यान गुमाईसकेका छन् ।