विप्लवद्वारा आज सुदूरपश्चिम बन्द,सुदूरपश्चिमका तीन मन्त्रालय र प्रदेशसभा भवन अगाडि शंकास्पद वस्तु फेला
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले आफ्ना कार्यकर्ता पक्राउको बिरोधमा आज सुदूरपश्चिम प्रदेश बन्द गरेको छ । सुदूरपश्चिमका तीन मन्त्रालय र प्रदेशसभा भवन अगाडि शंकास्पद वस्तु फेला परेका छन्। आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेशसभा भवन नजिक बम जस्तै देखिने शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।
आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्धा बनाएर पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो ।
रचनात्मक ढंगले कामकारवाही गरिरहेको बेला सरकारले गैरन्यायिक तरिकाले धनगढीबाट पक्राउ गरेका आफ्ना नेताकार्यकर्ता रिहा नगरेको भन्दै संघर्षका कार्यक्रम सार्वजनिक गरिएको हो ।
बुधबार कैलाली प्रहरीले धनगढी उपमहानगरपालीका वडा नम्बर ७ वेलीबाट विप्लव समूहका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्ज पुर्णीमा भन्ने गौरा धामीलाई पक्राउ गरेको थियो।