कञ्चनपुरमा भन्सार छली गरी ल्याइएका हार्डवेयरका सामान र युरिया मल बरामद

बोलन्या थली | ४ श्रावण २०७७, आईतवार

कञ्चनपुर । कञ्चनपुरको बेलौरीका बिभिन्न स्थानबाट सशस्त्र प्रहरीको टोलीले हार्डवेयरका सामान तथा भारतीय युरिया मल बरामद गरेको छ । भारतीय क्षेत्रबाट भन्सार छली गरी अबैध बाटो हुँदै नेपाल ल्याई दशगजा क्षेत्रका उखुबारीमा लुकाइ राखेको अवस्थामा ती सामान र युरिया मल बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक गंगा दत्त पन्तले बताए । 

शनिबार ५ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट थापाचोकबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक सुदीप कार्की नेतृत्वको ५ जनाको पैदल गस्ती टोलीले बेलौरी नगरपालिका वडा नम्बर २ खैरानी नजिकै दशगजा बोर्डर इलाकाको उखुबारीमा लुकाई बेवारिसे अवस्थामा रहेको अन्दाजी रु। २० हजार ९ सय २० मुल्य बराबरको हार्डवेयरका सामानहरु बरामद गरेको बताइएको छ ।

त्यस्तै, शनिबार ३ बजेतिर सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेलौरीबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक श्यामु राना नेतृत्वको ५ जनाको पैदल गस्ती टोलीले बेलौरी नगरपालिका वडा नम्बर ६ बैशाखा नजिकै दशगजा बोर्डर इलाकाको उखुबारीमा लुकाई बेवारिसे अवस्थामा रहेको अन्दाजी रु। १८ हजार मुल्य बराबरको १८ बोरा भारतीय युरिया मल बरामद गरेको छ ।

शनिबार नै ६ः३० बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुडाबाट खटिएको सशस्त्र प्रहरी बरिष्ठ हवल्दार प्रदीप कुमार कार्की नेतृत्वको ५ जनाको पैदल गस्ती टोलीले बेलौरी नगरपालिका वडा नम्बर १० सडकघाट नजिकै दशगजा बोर्डर इलाकाको उखुबारीमा लुकाई बेवारिसे अवस्थामा रहेको अन्दाजी रु ३० हजार मुल्य बराबरको ३० बोरा भारतीय युरिया मल बरामद गरेको थियो ।

बरामद गरिएका सबै सामान तथा युरिया मल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेलौरीबाट त्रिनगर भन्सार कार्यालयमा पठाइएको थियो । 

जनाअवजको टिप्पणीहरू