खै, केही सोचेकै छैन यार!

बोलन्या थली | १ श्रावण २०७७, बिहीबार
खै, केही सोचेकै छैन यार!


मैले पढाई सकेर स्वदेश जान लागेको एकजना साथीलाई सोधें, ‘के गर्ने विचार छ त अब?’ साथीले भन्यो ‘खै सोचेकै छैन यार।’ यो जवाफ एकजना साथीको मात्र हैन। म जस्तै धेरै युवाहरुको जवाफ यही हो। आखिर किन यस्तो अन्यौलता? के साच्चै हामी अनविज्ञ नै छौं त?कतै हामी बेहोसीमै बाँचिरहेका त छैनौं ?
कतै हाम्रो लक्ष्य हामी आफैं लाई त थाहा छैन? कतै हामी बहुमतको बहावमा बहकिएका मात्रै त हैनौं? कतै यो हाम्रो जीवन प्रतिको निराशा त हैन? कतै हाम्रो यही दुविधाले देश र समाजलाई पछाडी धकेलीरहेको त छैन? खयर जे होस् कारण थाहा नभए पनि समाधान खोज्ने बेला पक्कै भएको छ। देश फर्किने तीब्र इच्छा हुदाहुदै पनि मन भित्र कतै न कतै डर लुकेको छ, गएर के गर्ने? यो डर मेरो व्यक्तिगत मात्रै हो जस्तो मलाई लाग्दैन। यो हाम्रो सामूहिक डर हो। यही डरले गर्दा आज देशले विदेशमा रहेका आशलाग्दा युवाहरु तथा बिद्वानहरुलाई देशबाटै टुलुटुलु हेरिरहेको छ।
बुढो बुबाले खेत जोतेका छन् भने जवान र बलिया छोराहरु विदेशमा जोतिएका छन्। आमाले माया गरेर हुर्काएका छोराछोरीहरु विदेशमा अकालमै ज्यान गुमाउदै छन। यो सामूहिक डरको समाधान पनि हामी सबैले मिलेर खोज्न जरुरी छ। मैले मेरो व्यक्तिगत डरलाई हटाउदा देशलाई केही फरक पर्दैन। विज्ञानको सही सदुपयोग गरौँ। आजकाल न्युयोर्कमा रहेको साथीको अनुहार हेर्दै न्युरोडमा बसेर चिया खान सकिन्छ। सामाजिक संजालको सदुपयोग गरौँ। भेट्न मिल्ने भेटौं, नमिल्ने इन्टरनेटको माध्यमबाट गफ गरौँ, छलफल गरौँ, बहस गरौँ। एकतामा नै शक्ति हुन्छ भनेझै केही न केही उपाय पक्कै निस्किनेछ। त्यसपछि जवाफमा ‘ खै सोचेकै छैन ‘ हैन बरु फ्याट्टै जवाफ आओस ‘म जान्छु देश, जस्तोसुकै होस् परिवेश, खट्छु रहेसम्म शेष र बदल्छु देशको भेष।’

धेरैपछि एकजना अर्को साथीलाई भेटें र सोधें, ‘के छ खबर?’ जवाफ आयो, ‘के हुनु यार तनाव छ नि।’ त्यही साथीको एउटा हातमा आइफोन, अर्को हातमा अमेरिकानो कफी र कानमा ईयरफोन कोचेको थियो। यो जवाफ पनि साथीको मात्र हैन। धेरैजसो युवाहरुको हो।अब त लाग्छ थेगो नै भैसक्यो। बाहानाहरु हजारौं छन् तर वास्तविक कारण एउटा पनि छैन। कोही पढ्न नपाएर तनावमा छन् त कोही बढी पढेर; कोही माया घटेर तनावमा छन् त कोही बढेर । कोही काम नपाएर त कोही काम गर्न नसकेर।
कसैलाई बुढाको तनाव, कसैलाई बुढीको; कसैलाई खान नपाएर तनाव त कसैलाई ठूलो भुँडीको। कसैलाई साथीले गाली गरे त कसैलाई बा ले;कोही दिनभरी छिमेकीसँग झगडा गर्छन, भन्दै ‘खै मेरो कुखुराको भाले ?’ कोही बिदेशी हुँदा तनावमा छन् कोही स्वदेशमै। यसरी हेर्दा जे भए पनि तनाव छ, जे गरे पनि तनाव छ, जहाँ भए पनि तनाव छ। किन होला जस्तो लाग्छ? कतै आफू सँग भएको कुराको मूल्य थाहा नभएर त हैन? आफू स्वस्थ हुँदा सम्म कसैले अस्पताल गएर सोधेको छ, म किन स्वस्थ छु भनेर? बिरामी नभए सम्म कोही जादैन किनकि बिरामी नहुँदा सम्म स्वस्थ हुनुको मूल्य हामीलाई थाहा हुदैन। असफलताको तनाव हो भने असफलता बाट पाठ सिक्नुहोस। मृत्यु देखि डराउनु भाको हो भने बाचुन्जेल जिउन सिक्नुहोस। मायाको कमीले तनावमा हुनुहुन्छ भने माया दिन सिक्नुहोस। मैले यो तनावको विषय अहिले कुनै दर्शन या आध्यात्मिकता तिर मोड्न खोजेको हैन बरु माथिकै कुरा सँग जोड्न खोजेको हुँ। जब सम्म युवाहरु यसरी तनावमा हुन्छन देश पनि तनावमै हुन्छ। आफ्ना यति धेरै तनाव हुदाहुदै देशको बारेमा कसले सोच्ने ? त्यसैले तनावमुक्त समाज निर्माण गर्न तनावमुक्त मन हुन जरुरी छ।

त्यही दिन अर्को साथीलाई सोधें, ‘के छ खबर? ‘ जवाफ आयो, ‘ठीकै छ यार, चलिराछ।’ झट्ट सुन्दा त माथिको भन्दा सकारात्मक नै सुनिन्छ तर खुसीले गदगद चाहिँ हुन सकिन्न। यसमा पनि सांचिकै ठीकै जस्तो सुनिन्न। त्यो निराशाबादी जवाफ प्रस्ट झल्किन्छ। ‘चलिराछ’ चाहिं ठीकै हो तर ‘ठीकै छ’ चाहिं बेठीक देखिन्छ। जवाफमा उत्साह छैन, उमङ्ग छैन। देश बनाउने यस्ता युवाहरुको यस्तै जवाफले गर्दा आजकाल देशले पनि जवाफ दिन्छ, ‘ठीकै छ, चलिराछ।’ साच्चै ठीक भाको भए किन हुन्थ्यो हत्या, हिंशा, बलात्कार ? किन रुनु पर्थ्यो आमाहरु ?
त्यसैले यो एक-अर्काको कुरा काट्ने बेला हैन, अर्काको खुट्टा तान्नु भन्दा संगै मिलेर माथि जाने प्रयास गरौँ। देश बिकसित भए भोलि हाम्रा सन्ततीले विदेशमा आएर यसरी ‘तनाव छ यार’ भन्नु पर्दैन। अहिले नगरे कहिले गर्ने? हामीले नगरे कसले गर्ने? देशमै रहेर समाज सेवा गरिरहनु भएका सम्पूर्णमा मेरो सलाम छ। अन्त्यमा सोचेकै छैन हैन सबै मिलेर सोचौं, तनाव छ यार हैन सकारात्मकताले मनोबल उच्च राखौं र ठीकै छ चलिराछ हैन देशलाई दौडिने बनाउनु छ भन्ने सोचौं।


उत्तम ओझा
क्यंगबूक विश्वविद्यालय , दक्षिण कोरिया

जनाअवजको टिप्पणीहरू