म ओलीको पक्षमा !

बोलन्या थली | ३० असार २०७७, मंगलवार
म ओलीको पक्षमा !

जनक रसिक
मलाई लाग्छ अयोध्या बारे ओलीको अभिव्यक्ति आवेगमा, भावुकतामा, विना अध्ययन, विना तथ्यगत आधारमा फ्याँकिएको राजनीतिक मायावी जाल हो । देशहरूका वीच सामान्य सम्बन्ध रहेका अवस्थामा देशको प्रधानमन्त्रीले यसरी बोल्नु हुंदैन ।

तर अहिले भारतले निरन्तर नेपालमाथि अनेक प्रकारले थिचोमिचो गरिरहेको अवस्था हो । हाम्रो आदर्शले मात्रै भारतले हाम्रो कुरा सुन्ने छैन ।
हतियारको काम ध्वंश गर्नु हो, अझ त्यसमा धार्मिक सांस्कृतिक हतियारको असर नीकै भयानक, नीकै गहिराईसम्म र दूरगामी हुन्छ । यो हतियार प्रयोग गर्न खोजे ओलीले ।

ऐले सम्म कुनै नेपाली शासकले यस्तो हतियार प्रयोग गर्न सकेको थिएन । तर यो अश्रको उचित अवतरण पनि उनले गर्न सक्नुपर्छ ।
अस्ति अस्ति सम्म भारतीय मिडियाहरू नेपाललाई नीकै होच्याएर, अपहेलित र उपेक्षा गरेर रिपोर्ट बनाइरहेका थिए । तर हिजो ओलीको अभिव्यक्तिले ती मिडियामा यस्तो तरङ्ग ल्याइदियो की उनीहरूको हतास, त्रसित, भयभीत र आक्रोशित मानसिकता उनीहरूका रिपोर्टमा प्रस्ट देखियो ।

अव उनीहरूलाई पनि चाँडोभन्दा चाँडो समस्याको ठोस समाधान खोज्नुपर्छ भन्ने लागेको छ । मलाई खुशी लागेको यसैमा हो ।
यदि साँच्चै ओली ‘वार कि पार’ को मनस्थितिमा पुगेका हुन् भने केही वर्षको लागि चीन र भारतसँगका सबै खुला नाका बन्द गरुन्, भिसा सिस्टम लागु होस्, ‘अनिवार्य र अत्यावस्यक आयात’ भूपरिवेष्ठित राष्ट्रको अधिकारको आधारमा होस्, चीनतर्फ पनि चार-पाँच सडक निर्माण गरुन्, आन्तरिक समृद्धि र सुशासनमा द्रुततर गतिमा काम अघि बढोस् ।
राष्ट्रवाद र सुशासन राज्यका दुई पैतला हुन् । देश अघि बढाउन यी दुवै पैताला समान गतिमा चाल्नुपर्छ । एक पाइला रोकेर एक पाइला मात्र चाल्न खोज्दाकोे परिणाम दुर्घटना मात्र हुन्छ । सुशासन (आन्तरिक समृद्धि ) लाई वेवास्ता गरेर उग्र राष्ट्रवाद मात्रै प्रदर्शन गर्न खोजेमा र भौतिक रूपमा परनिर्भरता कायमै रहिरहेमा ओलीले अहिले प्रदर्शन गरिरहेको राष्ट्रवादले भविष्यमा झनै ठूलो दुर्घटना निम्त्याउनेछ । यसमा समयमै सचेत हुनु जरुरी छ ।
स्मरण रहोस् : सुशासनमा ओलीको वेवास्ता राष्ट्रवादको क्षणिक नाराले बिर्सन सकिँदैन ।

जनक रसिकको वालबाट !

जनाअवजको टिप्पणीहरू