आज सबै भन्दा धेरै पानी पर्ने, सर्तक रहन आग्रह


आज असार २५ गतेदेखि असार २८ गते सम्म यो वर्षकै ठुलो पानी पर्ने भएकाले सर्तक रहन सरकारले आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रदेश नम्बर १, प्रदेश नम्बर २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा यो वर्षकै सबैभन्दा बढी पानी पर्ने अनुमान गरेर सर्तक रहन भनेको हो।
निरन्तरको भारी वर्षाले बाढी, डुबान र पहिरोको जोखिम बढ्दो छ। पहाडी क्षेत्रका साना खोलानाला, खहरे र नदीनालामा बाढी आउने सम्भावना छ । लामो वर्षाले पहाडी भेगको भू भाग गलिसकेकाले कतिपय ठाउँमा पहिरो पनि जान सक्छ भन्दै प्राधिकरणले चनाखो रहन पनि आग्रह गरेको छ।
व्यवस्थापनमा खटिने निकायहरु र सर्वसाधारणहरु उच्च सतर्क एवं सुरक्षित अवस्थामा रहन गृह मन्त्रालयले अनुरोध गरेको छ। शुक्रबारदेखि आइतबार सम्म कन्काई, कोसी, कमला, बागमती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर बाढी र खतरा हुनसक्ने पूर्वानुमान गरिएको छ। खासगरि १ र २ नम्बर प्रदेशका चुरे तथा तराई भएर बग्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन विषेश आग्रह गरेको छ।
तराईका झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवन लगायत जिल्ला का कतिपय होचो ठाउँमा डुबानको सम्भावना भएको भन्दै गृहमन्त्रालयले सचेत रहन भनेको छ। उता लुम्बिनी, कर्णाली र सुद्र पश्चिम प्रदेशका बासिन्दाले पनि यो समयमा सतर्क रहन पर्ने भनेको छ।
ठूला नदीनालामा आउने बाढीबारे जानकारी लिनु परे जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ र आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्रि नम्बर ११४९ सम्पर्क गर्नु पर्ने हुन्छ।