सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षको नाराबाजीकैबीच बजेट पारित गर्ने तयारी
बोलन्या थली |
२४ असार २०७७, बुधबार
कैलाली । प्रतिपक्षी दलले लगातार संसद अवरोध गरेपछि सुदूरपश्चिम प्रदेश सरकारले सामान्य छलफल गरेरै प्रदेशसभाबाट आगामी आर्थिक बर्ष २०६७÷०७७ को बजेट पारित गर्ने तयारीमा जुटेको छ ।बुधबार नै बजेट पारित गर्ने प्रदेश सभा सचिवालयले कार्यसूची तयार गरेको छ ।
असार १ गते प्रदेश सरकारले बजेट ल्याएको थियो । तर प्रतिपक्षी दलको विरोधका कारण २० दिनसम्म बजेटमाथि छलफल हुन सकेन ।
बजेट सन्तुलित नभएको, सरकारले कोरोना नियन्त्रणमा गरेको खर्च सार्वजनिक नगरेको र भ्रष्टाचार मौलाएको भन्दै प्रतिपक्षी दलले प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका छन् ।
असार २१ गते प्रदेश प्रतिपक्षी दलको नाराबाजीकै बीच प्रदेशसभा बैठक सुरु भएको थियो ।२१ गते र २३ गते प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको विरोधकै बीच बजेटमाथिको छलफल अघि बढाएको प्रदेशसभाले बुधबार विरोधकै बीच पारित गर्ने तयारी थालेको छ ।


