ढलको पानीमा कोरोना भाइरसको अंश भेटिएपनि सर्दैन- स्वास्थ्य मन्त्रालय

बोलन्या थली | २१ असार २०७७, आईतवार
ढलको पानीमा कोरोना भाइरसको अंश भेटिएपनि सर्दैन- स्वास्थ्य मन्त्रालय

ढलको पानीमा कोरोना भाइरसको अंश भेटिएपनि त्यसले कोभिड १९ सार्ने पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ढलको पानीबाट कोरोना संक्रमण सर्ने हल्ला चलिरहँदा मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा ढल प्रणालीबाट कोरोना भाइरसको संक्रमण फैलिएको प्रमाण नभेटिएको जानकारी दिएको हो ।

‘ढलको पानीमा भाइरसका टुक्रा टाक्री देखिएको अध्ययनले देखाएको छ,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘तर, भाइरसको अंश रोग सार्ने खालको हुँदैन ।’

ढलको पानीमा कोरोना भाइरस दुई दिनसम्म बाँच्ने भएकाले सावधानी भने अपनाउन गौतमले आग्रह गरे । ढलको पानीमा कोरोनाको अंश भेटियो भन्दैमा समुदायमा देखिएर जटिल अवस्था नहुने स्पष्ट पारे ।

कोरोना भाइरस नजिकमा रहेको संक्रमितले हाँछ्यु गर्दा या छुँदा सर्न सक्ने उनको भनाई थियो । उनले भने, भाइरसको जीवाणु रहेको स्थान वा व्यक्तिलाई छोएर आफ्नो मुख, हात वा आँखामा छुँदा सर्नसक्छ । त्यसबाहेक अन्य कारणले सर्ने पुष्टि भएको छैन । ढलको पानीमा कोरोना भाइरस भेटिएकाले सर्ने भन्दै खबरहरु आइरहँदा मन्त्रालयले यस्तो जानकारी गराएको हो ।

जनाअवजको टिप्पणीहरू