गुरु (कविता)
बोलन्या थली |
२१ असार २०७७, आईतवार
गुरु सङ्घर्षका मूर्ती , पूजनिय उनी सदा
गुरुको स्तुतिमा मग्न , हुन्छ त्रिलोक सर्वदा ।
गुरुको रूप धेरै छ , छरिन्छन् हर ठाउँमा
बाढ्दै ज्ञान र कल्याण , हर सहर गाउँमा ।
गुरु बुद्ध भई सारा, शान्ती पाठ पढाउछन्
अरनिको त कैले भै , सीप कला सिकाउछन् ।
गुरु मेरा हरिश्चन्द्र सत्य बोल्न लगाउछन्
युधिष्ठिर भई धर्मको पथमा हिडाउछन् ।
हटाई रजनीलाई ,उज्यालो गुरु पार्दछन्
कुकर्मबाट जोगाई ,सत्कर्म तर्फ सार्दछन् ।
हुर्काई कोपिलालाई , गुरु पुष्प बनाउछन्
काँडोलाई तरक्किको, जरैदेखि हटाउछिन् ।
शिक्षा दीक्षा दिने हुन्छन् , सद् मार्गमा हिडाउछन्
गर्नु हुदैन है पाप , भनी गुरु सिकाउछन् ।
बोल्दछ सब संसार , स्वर लिई मनोहर
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर ।।
विभूति अधिकारी धनगढी,कैलाली