भारतले आज धौलीगंगा बाँध खोल्दै, सतर्क रहन सबैलाई आग्रह
बोलन्या थली |
१५ असार २०७७, सोमबार बैतडी,असार १५। भारतले उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध आज राती खोल्ने भएको छ। बाँध आज राती १२ बजेदेखि भोली बेलुका पौने ७ बजेसम्म खोलिने एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन धारचुलाले जानकारी दिएको छ।
धौलीगंगाको बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्नसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन्।
परियोजनाले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खोल्ने गरेको छ। बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने र तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आग्रह गरेका छन्।
महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी आसपास नजान अनुरोध गरिएको छ।


