सुदूरपश्चिम प्रदेश सरकारद्वारा कोरोना रोकथाममा भएको खर्च सार्वजनिक

बोलन्या थली | ८ असार २०७७, सोमबार
सुदूरपश्चिम प्रदेश सरकारद्वारा कोरोना रोकथाममा भएको खर्च सार्वजनिक

धनगढी,असार ८ । सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा झण्डै ५६ करोड रुपैयाँ खर्च गरेको छ । सरकारले खडा गरेको कोरोनाको जोखिम नियन्त्रण, उपचार तथा व्यवस्थापन कोषबाट ४२ करोडसहित सो रकम खर्च भएको हो ।

सुदूरपश्चिम प्रदेशको गत चैत ११ गतेको मन्त्रिपरिषदको बैठकले प्रदेशमा कोरोनाभाइरसको रोकथाम, जोखिम न्यूनीकरण, क्वारेन्टिन तथा आपतकालीन व्यवस्थापनका लागि दुई करोड ९९ लाख विनियोजन गरेको थियो । सो रकममध्येबाट उपमहानगरपालिकालाई पाँच, नगरपालिकालाई चार तथा गाउँपालिकाहरुलाई तीन लाखका दरले अनुदान दिइएको थियो ।

सोही दिन प्रदेशको सामाजिक विकास मन्त्रालयलाई पनि ११ करोड ५० लाख रकम दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो । प्रि-फ्याब भवन निर्माण तथा आपतकालीन व्यवस्थापनका लागि सो रकम विनियोजन गर्ने निर्णय भएको हो । सोही निर्णयका आधारमा रकम पठाइएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले बताए ।

‘तीन चरणमा स्थानीय तहलाई रकम दिएका छाैं । २०७६ चैत ११ गते स्थानीय तहलाई सहयोग गर्ने निर्णय गरेका थियौँ । राहत वितरणका लागि पनि १५ करोड २६ लाख पठाएका थियौ,’ मन्त्री शाहले पत्रकार सम्मेलन भने ।

प्रदेशको मन्त्रिपरिषद बैठकले चैत २७ गते मात्र कोरोनाभाइरस रोगको जोखिम नियन्त्रण, उपचार तथा व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको थियो । कोषमा सरकारको ४० करोडसमेत गरी ४२ करोड ५७ लाख रकम जम्मा भएको थियो । जसमध्ये अहिलेसम्म ४२ करोड ४८ लाख ९५ हजार खर्च भइसकेको छ भने ८ लाख ७० हजार मात्रै बाँकी रहेको मन्त्री शाहले जानकारी दिए ।

कोषको रकमबाट ८८ स्थानीय तहलाई १५ करोड २६ लाख, ९ वटै जिल्ला प्रशासन कार्यालयलाई ४५ लाख, पृतना हेटक्वाटर दीपायल, प्रदेश प्रहरी कार्यालय, वैद्यनाथ बाहिनी अत्तरियालाई १५/१५ लाख, राष्ट्रिय अनुसन्धान विभागलाई १० लाख, सामाजिक विकास मन्त्रालयलाई १५ करोड ७३ लाख ८० हजार, दृष्टि फाउन्डेसन र मानव सेवा आश्रमलाई एक लाख ४० हजार, गोदावरी नगरपालिकालाई तीन लाख, ९ वटै प्रहरी कार्यालयलाई ३१ लाख, महाकाली अस्पताललाई ४० लाख, सीमामा खाना खुवाउन जिल्ला प्रशासन कार्यालय कैलालीलाई दुई लाख २५ हजार र ८८ वटै स्थानीय तहलाई २० देखि एक सय शय्याको आईसोलेसन व्यवस्थापनका लागि ६ करोड २५ हजार रकम विनियोजन गरिएको छ ।

जनाअवजको टिप्पणीहरू