डडेलधुरामा पिसिआर मेसिन पुग्यो
डडेल्धुरा : कोरोना परीक्षण गर्ने पिसिआर मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिएको छ।
ह्यु मिनिटी फाउन्डेसन नेपालले खरिद गरेको पिसिआर मेसिन आइतबार डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई हस्तान्तरण गरिएको हो ।
फाउन्डेसनले सुदूरपश्चिम तथा विदेशमा बस्दै आएका समाजसेवी, व्यापारी, वुद्धिजीवीलगायतका दाताहरुबाट संकलन गरिएको रकमले खरिद गरेको मेसिन लिएर काठमाडौंबाट ट्रक अत्तरिया पुगेको थियो। र, त्यहाँबाट उक्त मेसिन बुझेर डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष ओझा डडेल्धुरातर्फ लागेका छन्।
उनले मेसिन जडान गर्ने प्राविधिक पनि सँगै आएकाले सोमबारबाटै जडानको काम सुरु गर्ने बताए। ‘भोलीबाटै पिसिआर मेसिन जडानको काम गर्छौ’ उनले भने, ‘अबको एक हप्ताभित्रै काम सकेर मेसिन सुचारु हुन्छ।’
आइतबार मेसिन अस्पताललाई हस्तान्तरण गरेको ह्युमिनिटी फाउन्डेसन नेपालका अध्यक्ष श्याम तायलले जानकारी दिए। पिसिआर मेसिन खरिदमा फाउन्डेसनले अगुवाइ गरेपनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सहजीकरण एवं समन्वय गरेको उनले बताए।