ठुलाले ठगे , जनताद्वारा नै डडेलधुरामा पिसिआर
डडेल्धुरामा आईतबार बेलुकी सम्म पिसिआर मेसिन पुग्ने भएको छ । सरकारको प्राथमिकतामा नपरेको डडेल्धुरामा मानवअधिकारकर्मी संस्थाको पहलमा कोरोना भाईरस संक्रमण भए नभएको जाँच गर्ने पिसिआर मेसिन डडेल्धुरा पुग्ने भएको हो ।
कोरोना जाँचका लागी संघिय र प्रदेश सरकारको प्राथमिकतामा डडेल्धुरा नपरे पछि मानवअधिकार कर्मी संस्थाको अगुवाईमा पिसिर मेसिन खरिद गर्न जन स्तर बाट आर्थिक संकलन अभियान थालिएको थियो ।
सुदूरपश्चिमको बैतडी र डोटीमा कारोना परिक्षण ल्याब बनाउने प्रदेश सरकारको निर्णय अझै कार्यान्वयनमा आउन नसकेका बेला डडेल्धुरामा भने जनस्तर बाट संकलन गरिएको रकमले पिसिआर मेसिन पुग्न लागेको छ ।
जनस्तर बाट रकम संकलन गरि खरिद गरिएको पिसिआर मेसिन आईतबार बेलुकी सम्म डडेल्धुरा आई पुग्ने अभियानका एक सदस्य राजेन्द्र पनेरुले बताए । ह्युमिनिटी फाउन्डेसन नेपालले खरिद गरेको पिसिआर मेसिन काठमाण्डौँ बाट ट्रक द्धारा ल्याउन लागिएको छ । फाउन्डेसनले सुदूरपश्चिम तथा विदेशमा बस्दै आएका समाजसेवी, व्यापारी, बुद्धिजीवी लगायतका दाताहरु बाट रकम संकलन गरि मेसिन खरिद गरेको थियो ।
पीसीआर मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिनेछ । अस्पतालले नै मेसिनको जडान तथा सञ्चालन गर्नेछ । मेसिन पुगे पछि डडेल्धुरा अस्पतालमा जडान गरी कोरोना परीक्षण गर्ने तयारी थालिएको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा.जगदिशचन्द्र बिष्टले बताए ।
मेसिन पुगेको एक साता भित्र जडानको काम सकेर परीक्षण थालिने उनले बताए । अहिले अस्पतालमा उपलब्ध जनशक्ति बाट प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन गरिने भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सँग थप जनशक्ति माग गरिएको डा. बिष्टको भनाई छ ।