आमालाई सम्झिदै अस्ताए बलिउड अभिनेता सुशान्त

बोलन्या थली | ३२ जेष्ठ २०७७, आईतवार
आमालाई सम्झिदै अस्ताए बलिउड अभिनेता सुशान्त

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पा’सो लगाएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निर्वाह गरेका थिए। भारतीय टेलिश्रृंखलाहरूमा जमेका राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए।

३४ वर्षीय अभिनेताले राजपुतले किन आत्म हत्या गरे भन्ने अहिलेसम्म कुनै जानकारी आएको छैन। गत ८ जुनमा उनको म्यानेजर दिशा सलियानले पनि एउटा भवनबाट हामफालेर आत्म हत्या गरेकी थिइन् । घरका कामदारले प्रहरीलाई बताए अनुसार उनी हिजो देखि निकै तनावमा थिए । ती कामदारका अनुसार बिहान ढिलोसम्म ढोका नखोलेपछि अर्को चाबीले मेन गेट खोलेर भित्र प्रवेश गरेका थिए ।

भित्र उनको शव पंखामा झुण्डिरहेको अवस्थामा उनले फेला पारेका थिए । सुशान्तले आफ्नो अन्तिम सोशल मिडिया पोष्टमा आफ्ना आमालाई सम्झिदै जीवनलाई क्षणभंगुर (क्षणिक, केही बेरमा नाश हुने) बताएका थिए। उनले लेखेका थिए, धमिलो अतित आँशु का रुपमा वाफ बनेर उडिरहेको छ । सुशान्तको आमाको मृत्यु सन् २००२ मा भएको थियो र सन् २०१६ को जनवरीमा दिएको एक अन्तरवार्तामा उनले आफ्नो आमाको मृत्युलाई जीवनको सबैभन्दा दुःखद क्षण भएको बताएका थिए ।

‘यो भयानक अनुभव थियो । यसले अहिले पनि मलाई डराउँछ । परिवारको कुनै पनि सदस्यको मृत्युलाई पहिलो पटक सामना गरेको थिएँ । जब यस्तो घटना हुन्छ तपाईंलाई हरेक चिज क्षणिक भएको पत्ता लाग्छ । यस घटनाले मेरो भित्र केही बदलाव गर्यो । म आज त्यो व्यक्ति रहिनँ, जुन म उनी जान भन्दा अघि थिएँ ।’ सुशान्तले आफ्नो बलिउड करियरमा १२ वटा चल चित्रमा काम गरेका थिए । जसमा काय पो चे, शुद्ध देशी रोमान्स, पीके, डिटेक्टिव ब्योमकेश बख्शी, एमएस धोनीः अनटोल्ड स्टोरी, राब्ता, केदारनाथ, लगायत चलचित्र रहेका छन् ।

जनाअवजको टिप्पणीहरू