प्रचण्डको अपरिपक्व अभिव्यक्ति

बोलन्या थली | ३२ जेष्ठ २०७७, आईतवार
प्रचण्डको अपरिपक्व अभिव्यक्ति

धेरै वर्ष पछि अकल्पनीय रुपमा हिजो संसद भवनमा सानो र स्थायी वा अस्थायी (हेर्न बाकि छ) खुसिको कुरा सुन्न पाइयो । त्यो सानो खुसीको घडीलाई पनि फेरी प्रचण्डको अभिव्यक्तिले खल्लो पारि दियो । उनले खासमा देशमा आज सम्म सकारात्मक काम केहि गरेकै छैनन । त्यसैले मुस्किलले हुने सकारात्मक कामको टिप्पणी यसरि गर्छन कि .. त्यो नकारात्मक तिर जान थाल्छ । अरुलाई आरोप लगाएर आफु उम्कन खोज्ने उनको कुटिल प्रबृत्तिले गर्दा , जति सुकै प्रयास गर्दा पनि उनि प्रति कुनै सम्मान नै आउदैन । यो सम्मान नआउनुमा मेरो व्यक्तिगत भन्दा पनि उनको अभिव्यक्ति र चर्तिकला नै दोषी छन , नत्र म मेरो नेताले गरेका सुकर्महरु छाती फुलाएर भन्न पाउदा कति गर्वित हुदो हुँ ।
“राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ताल्यायो” रे । यसले उनको छोटो दुरीको ज्ञान प्रस्ट हुन्छ । उनले राजतन्त्र भने पछि कहाँ देखि कहाँ सम्म नापे थाहा भएन सायद राजा ज्ञानेन्द्रलाइ मात्रै भन्न खोजेका हुन कि ? यदि त्यसो हो भने पनि ज्ञानेन्द्र रोल क्रमका राजा हुन पाएनन् र पाउने लाइनमा पनि थिएनन । ज्ञानेन्द्रले कुनै भूमि न त बेचे न त किने । कतै उनले कुलनन्दन शाह खांड देखिको कुरो गरेका त हैनन् ? यदि उनले पृथ्वी नारायण शाह देखिको कुरो गरेका हुन भने ….. पृथ्वी नारायण शाहले एकीकरण गरेर बनाएको देश हो नेपाल भन्ने पनि थाहा न रैछ उनलाई ! कृपया कसैले यो कुरो उनि सम्म पुर्याई दिए अर्को पटक यस्तो गल्ति नगर्लान । महेन्द्रले देश बचाउन गरेका संघर्ष र बिकास पनि थाहा न रैछन । यस बारे पनि कसैले उनलाई बताई दिए मेरो दिल खुस हुने छ । त्यस बिचका अन्य राजाका पालाको विश्व परिवेश र वर्तमान विश्व परिवेस बीचको भिन्नताका बारेमा पनि प्रचण्ड अनभिज्ञ नै रैछन नत्र तत्कालिन अवस्थामा देश बचाई राख्नु र अहिले पाई नसकेको भूमिको नक्सा सार्वजनिक गर्नुलाइ नै पूर्ण विजय ठान्नु , यी- यी कुराहरुलाई समान रुपले दाज्ने थिएनन् उनि । हजारौ नागरिकको ज्यान लिएर , जनतालाई जात, धर्म, क्षेत्रका आधारमा विभाजित गरि देश बांडफांड गरेर आफ्नो निहित स्वार्थ पूर्ति गर्ने प्रचण्डलाइ एकीकरण भनेको थाहा छ र ?
सुन्नमा आए अनुसार सन १९६२ मा भारत-चिन युद्द ताका तत्कालिन राजा महेन्द्रसंग भारतले कालापानी नजिकको क्षेत्र केहि समयकालागि प्रयोग गर्न अनुमति लिएको थियो, जुन सन्धि अनुसार नेपालले दिनु नै पर्ने थियो रे । त्यसैले महेन्द्रले त्यो क्षेत्र निश्चित अवधिकालागि प्रयोग गर्न दिएका हुन भन्ने इतिहासविद बताउछन । यसलाई महेन्द्रले बेचेको आरोप लगाउदै अत्ति नै रास्ट्रबादी र विकासवादी राजा प्रति घृणा फैलाएर , प्रचण्डले खै कसको अभिस्ट पूर्ति गर्न खोज्दै छन थाहा छैन । उनि जस्तै नेपाली जनता बीच खेल्न र भाड्न खोज्ने अन्य व्यक्ति र संस्थाहरुले पटक पटक राजा महेन्द्रको कुप्रचार गर्दै लिपुलेक बेचेको लगायतका थुप्रै गलत आरोपहरु लगाउने गरेका छन । एक अत्ति नै सामान्य विवेक भएको व्यक्तिले पनि सोच्नु पर्ने कुरा के हो भने यदि महेन्द्रले उक्त क्षेत्र बेचेका थिए भने यी सबै कर्तुत गर्न भारत गणतन्त्र आउन्जेल सम्म किन कुरेर बस्थ्यो ? बि. सं. २०२८ सालमा महेन्द्रको निधन भएको थियो । आज झन्नै ५० बर्ष हुन थाल्यो । भारतसंग कालापानी किनेको प्रमाण भएको भए ५० वर्ष सम्म यस्ता गतिबिधि गर्न कुरेर बस्थ्यो होला त भारतले ? उक्त क्षेत्रमा सडक निर्माण गर्न सुरुगरेको १२ वर्ष भए छ । ल हिसाब गर्नुस त …लगभग १२-१५ वर्ष नै भयो नेपालमा गणतन्त्र नामको धमिरो लागेको पनि । भारत सडक बनाउन र अन्य सिमा अतिक्रमण गर्न नेपालमा गणतन्त्र आउन्जेल सम्म किन कुरेर बस्यो ? यदि महेन्द्रले बेचेको हुन भने आज भारतले सप्रमाण ती कागजात ल्याएर हाम्रो ढाड अन्तरास्ट्रिय जगत कै सामुन्ने खुस्काइ सकेको हुन्थ्यो बरु अब डर यो छ कि कतै प्रचण्ड जस्तै कसैले हामीसंग भएका प्रमाणहरु पारि नपुर्याएको होस ।

इतिहासविदहरुका अनुसार

राजा महेन्द्रले तत्कालिन अवस्थामा देश भरका १७ स्थानबाट भारतीय सेना हटाउदा पनि कालापानीबाट हटाउन सकेनन रे । १७ स्थानबाट हटाउनेले कालापानीबाट हटाउने प्रयत्न नै नगरेको पक्कै हैन होला । दुस्ट छिमेकीलाइ राम्रै संग चिनेका छौँ हामीले पनि । उसले हट्न मानेन तर पनि उसले उक्त भूमिलाई आफ्नो भन्ने हिम्मत चै गरेको थिएन । तेसैले महेन्द्रको निधन भएको ५० वर्ष सम्म पनि कालापानी बिबादित भूमि कै रुपमा राखिएको थियो तर प्रचण्ड जी उसले आफ्नो नक्सामा उक्त बिबादित भूमि सामेल त अहिले २०७७ मा नेपाल गणतान्त्रिक देश भै सके पछि तपाइकै पार्टीको सरकार हुँदा मात्रै हिम्मत गर्यो नि ? उसको यो हिम्मतलाइ आम जनताले कसरि बुझौं ? अमर भुषणको “इनसाइड नेपाल” पुस्तकमा चरितार्थ गरे जसरि नै बुझौं कि फरक ढंगले ? यस्तो अर्को कुनै पुस्तकमा महेन्द्रको बारेमा आएको भए तपाइको र तपाइका पिउसाहरुको प्रतिक्रिया के कस्तो हुदो हो ? तपाइका बारेमा त अमर भुषण मात्रै हैन, पुर्व भारतीय सेना प्रमुखका मुखबाट नै केहि दिन अगाडी टेलिभिजन लाइभ मै के के सुनेका थियौं । तपाइँ मात्रै हैन तपाइको सिंगो पार्टीलाइ नै सेल्टर दिएको कुरा त संसद भवनमा कसैले भनेन र टेलिभिजन कार्यक्रम मै सिमित रह्यो ।

प्रचण्ड जी … सार्है फटाइका कुरा गरेर दुनियालाई उल्लु बनाउन सक्ने तपाइलाई अल्प ज्ञानी पनि कसरि भन्नु ? जे होस् तपाइँ जस्तो व्यक्ति हाम्रो देशको तेत्रो ठुलो नेता हुनु हाम्रो लागि चै दुर्भाग्यकै बात हो । तपाइलाइ यति अपरिपक्क कुरा गर्न अलिकति पनि लाज लागेन ? अपरिपक्क किन भने मैले ?……सर्वप्रथम त अहिले हाम्रो पूर्ण नक्सा निशाना छापमा समिटिएको मात्रै हो । भुमि नै फिर्ता आइ सकेको छैन । कालापानीबाट भारतीय सेना फिर्ता भै सकेको पनि छैन । साच्चै भन्ने हो भने ….अहिले अल्प खुसीको र धेरै जिम्मेवारी, चुनौती अनि त्रासको घडी पनि हो । किनकि अबको अर्को स्टेप भनेको झन् गारो हुने वाला छ । भारतीय सेनालाई
कालापानीबाट भगाउनु र त्यहाँ भारतले निर्माण गरेको सडकको ब्यबस्थापन गर्नु । भारतले त्यति सहजै सबै सुम्पेर गैहाल्छ भनि हाल्ने अवस्था छैन । त्यस्तो रणनैतिक दृस्टीले उपयुक्त भूमि अनि चिन संगको उसको बढ्दो तनाबका बीच उक्त क्षेत्र फिर्ता ल्याउन निकै दम चाइने वाला छ हामीलाई । यो कठिन जिम्मेवारी र पहाड जस्तै चुनौती एकातिर, अनि हामीले भूमि फिर्ता ल्यायौ भन्ने प्रचण्डको अल्प ज्ञानले भरिपूर्ण अभिव्यक्ति अर्को तिर हेर्नुस त कति अपरिपक्क अभिव्यक्ति !उनले बुझ्नु पर्ने कुरो के पनि हो भने उक्त भूमि सहितको नक्सा भारतले हामि भन्दा पहिले नै केहि महिना अगाडी प्रकासित गरि सकेको छ यस अर्थमा भूमि नक्सामा समेटिनु नै आफ्नो हुनु हो भने हामि तेस भूमिको हकदार नै हुदैनौ तर हामीलाई थाहा छ – त्यो भूमि हाम्रो हो । इतिहासविदका अनुसार हामी संग प्रमाणहरु पनि थिए र हुने छन् यदि नस्ट न गरिएका भए । सुन्दै छु प्रामाणहरु संकलनको क्रममा छन् | खासमा त यो स्टेज सम्म आइसक्नु पुर्व नै प्रमाणहरु संकलन भै सकेको हुनु पर्ने हो खैर अहिलेलाइ ठिकै छ मानौ ! हुन त भारतले हाम्रो नाडी नसा छामेर नै तेस्तो जघन्य अपराध गर्ने हिम्मत गरेको हो । उसको दुर्भाग्य समयले कोल्टे फेर्यो र हामीले आफ्नो भूमि दावी गर्ने हिम्मत गर्यौं । यसका लागि सम्पूर्ण सत्ता पक्ष, प्रमुख प्रतिपक्ष र अन्य प्रतिपक्ष दलहरुलाइ समान सम्मान जान्छ । सबैले साथ दिए । प्रतिपक्षले साथ नदिएको भए यो खुसि आउने थिएन । २५८ उपस्थित संसद मध्ये सबैले पक्षमा मतदान गर्नु आफैमा एक खुसिको कुरा हो । तर यसमा तपाई प्रचण्डको बिशेष र अन्य भन्दा पृथक भूमिका मैले केहि पनि देखेको छैन कसैले देखेको भए मलाई भन्दिनु होला , आभारी हुने छु ।

अब कुरा गरौ तपाइकै । प्रचण्ड जी तपाइँ त यस भन्दा अगाडी गणतान्त्रिक नेपालको २-२ पटक प्रधानमन्त्री पनि भै सकेको मान्छे हो । भूमि बेचेको आरोप राजाहरुलाई लगाउदै गर्दा तपाइँ प्रधानमन्त्री भएको बेला चै कुन कुन स्थानको भूमि फिर्ताको पहल गर्नु भयो त ? २०४६ साल अघि कंचनपुर सिमाना बनबसाको पुलको बिचमा रहने गरेको नेपाली झण्डा पुनर्स्थापना गर्न कति पटक पहल गर्नु भयो ? अहिले त्यो झन्डा भारतले हटाइ दिएको छ । राजाहरुका पालामा त पुलको बीच मै नेपालको झण्डा फहराउने गर्थ्यो । त्यति मात्रै हैन अहिले त झन् गड्डाचौकी सम्म नै आइसक्यो भारतीय सेना । तपाई प्रधानमन्त्री हुदा किन भारतीय सेनलाइ बनबासा पारि लखेट्न सक्नु भएन ? सुस्ताका बिषयमा कति पटक वार्ता वा पहल गर्नु भो ? लक्ष्मणपुर बाध, कोशी लगायत भारतले अतिक्रमण गरेका दर्जनौ स्थान छन ती स्थान फिर्ताको त कुरै छोडौं, तपाइलाई यी सबै कुराको जानकारी सम्म पनि छ कि छैन, खै ! 

अन्तमा…नक्शा छापिनु धेरै राम्रो पक्ष हो तर सबै थोक कदापि हैन । महेन्द्रनगर स्थित महाकाली नदीमा भारतीय सेनाले अहिले स्थानियलाइ लास सम्म जलाउन दिदैन । जबकि राजाहरुका पालामा भारतीय सेना नेपालको भूमिमा खुट्टा टेक्न सकेको थिएन र महेन्द्रनगरमा स्थानियले नेपाल तिरको जुन सुकै स्थानलाइ जुन सुकै प्रयोजनका लागि पनि प्रयोग गर्न पाउथ्यो । अहिले तेसै स्थानमा भारतीयले नेपाल तिर उच्च परखाल र सडक बनाइ रहेको छ त्यसको अनुमति कसले दियो र त्यो कहिले फिर्ता आउछ ? यसको जवाफ पनि दिनु पर्छ तपाइले अब । यस्तै पुर्व मेची देखि पश्चिम महाकालीको महेन्द्रनगर, दार्चुला सम्म थुप्रै स्थानमा एकलौटी रुपमा बाँध बाध्ने र सडक बनाउने कार्य गर्दै छ भन्ने समाचारहरु आइ रहेका हुन्छन । त्यो कहिले रोक्ने तपाइले ? भारतले राजाका पालामा हिम्मत न गरेका कुराहरु तपाइको पालामा भटाभट बनाउदै छ । राजाका पालामा हिम्मत न गरेको लिपुलेक सडक तपाइका पालामा सुरुवात गरेर समापन नै गरि दियो किन /कसरि ? 
• लेखक बोलन्या थलीको मिडिया एडभाईजरी प्यानलका लागी अन्तर्राष्ट्रिय सम्बन्ध सदस्य हुन । हाल अमेरिकामा बस्नुहुन्छ ।

 

जनाअवजको टिप्पणीहरू