कैलालीका नदीमा डल्फिन देखिन थाले
धनगढी,जेठ,३१। एक ठाउँबाट अर्को ठाउँमा बसाई सर्न मन पराउने ग्यांगेटिक जातका डल्फिन भारतबाट कैलालीका नदीसम्म आइपुगेका छन् । भारतको घाँघरा नदी हुँदै आएका डल्फिनहरु कैलालीको मोहना, पथरैया र काँडा नदीमा शनिवार देखिएका छन् ।
विश्वमै दुर्लभ स्तनधारी ग्यांगेटिक प्रजातिका डल्फिन ती नदीहरुमा वर्षायाममा मात्रै आउने गरेका छन् । अन्य वर्षहरुमा असार दोश्रो, तेश्रो सातादेखि आउने गरेको भए पनि यस वर्ष समयमै पानी परेपछि जेठ अन्तिममै डल्फिन देखिएका हुन् । असारदेखि असोजको महिनासम्म यी नदीहरुमा डल्फिन सजिलै देख्न सकिन्छ ।
शनिवार दिउँसो मोहना र पथरैया नदीको दोभान क्षेत्रमा दुई वटा डल्फिन देखा परेको डल्फिन संरक्षण उपकेन्द्र ढुंगाना टोलका अध्यक्ष भोजराज ढुंगानाले बताए ।
भारतको घाँघरा नदी हुँदै मोहना, पथरैया र काँडा नदीमा वर्षेनी वर्षाद्को समयमा आउने डल्फिनहरु यस वर्ष जेठमै आइपुगेको स्थानीय नरेन्द्रराज रेग्मीले बताए । विश्वबाटै दुर्लभ मानिएको डल्फिन संरक्षणका लागि २०५७ सालदेखि टीकापुर नगरपालिका वडा नं. ७ र भजनीका स्थानीयहरु जुट्दै आएका छन् ।
खाली आँखाले समेत नजिकै डल्फिन हेर्न सकिने हुनाले मोहना, पथरैया र काँडा नदीको दोभानमा डल्फिन हेर्न वर्षायाम विदेशी तथा नेपाली पर्यटहरु आउने गरेका छन् ।