खप्तडमा ‘हेलीटुर’ प्याकेज सञ्चालन हुने

बोलन्या थली | ८ पुष २०७७, बुधबार
खप्तडमा ‘हेलीटुर’ प्याकेज सञ्चालन हुने

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल खप्तडका लागि धनगढीबाट ‘हेलीटुर’ प्याकेज सञ्चालन हुने भएको छ ।

आन्तरिक पर्यटनमा टेवा पुर्याउने उद्देश्यले धनगढीस्थित एडभेन्चर वेष्ट होलीडेज प्रालिले यहि पुस १५ गतेदेखि सो प्याकेज सेवा सुरु गर्न लागेको हो । धनगढीबाट हवाईमार्ग हुँदै खप्तड जान आउन र दुई दिनसम्म खाने बस्ने सहितको प्याकेजको ब्यवस्था रहेको प्रालिका सञ्चालक योगेन्द्र बमले जानकारी दिए ।

उनले भने– ‘दुई दिनको प्याकेजको प्रतिव्यक्ति ४० हजार रुपैयाँ शुल्क रहेको बताए । उक्त रुपैयाँमा खाना, नास्ता तथा आवास सहित दुई दिन खप्तडका पर्यटकीय क्षेत्रको भ्रमण गराइने छ ।’

होलीडेज प्रालिले समीट एयरसँगको सहकार्यमा हेलीटुर प्याकेज सञ्चालन गर्न लागेको हो । समीट एयरले हाल धनगढीबाट डोटी, आछाम, बझाङ, बाजुरा र बैतडी जिल्लामा नियमित उडान गरिरहेको छ ।

यसअघि एडभेन्चर वेष्टहोलीडेज प्रालिले कर्णाली प्रदेशको मुगुमा रहेको रारातालमा ‘रारा टुर’ प्याकेज सञ्चालन गरेको थियो ।

सुदूरपश्चिमका चार पहाडी जिल्लाहरू बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगम स्थल रहेको खप्तडमा त्रिवेणी मन्दिर, २२ वटा पाटन छन्, केदार ढुंगा, खप्तडबाबाको आश्रम, विभिन्न प्रजातिका फूल तथा चराचुरुंगी रहेका छन् ।

भूस्वर्गका उपमाले चिनिने खप्तड समुन्द्री सतहबाट दुई हजार ७ सयदेखि तीन हजार २२७ मिटरसम्मको उचाइमा रहेको छ । यहाँ विश्वमै अति दुर्लभ दलदले घाँसे मैदान पनि रहेकाे छ ।

जनाअवजको टिप्पणीहरू