कैलालीको सुपथ मूल्य पसलमा १ करोड बढीको कारोबार


कैलाली । चाडपर्वलाई लक्षित गर्दै कैलालीमा सञ्चालनमा आएको सुपथ मूल्यका पसल शनिबारदेखि बन्द भएका छन् । कैलालीमा असोज १५ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गरिएको थियो । स्थानीयले भने सुपथ मूल्य पसललाई चाडपर्वमा मात्र केन्द्रित नगरी अन्य समयमा पनि सञ्चालन गरिनुपर्ने माग गरेका छन् ।
कैलालीको धनगढी र अत्तरियामा दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सञ्चालनमा आएका सुपथ मूल्य पसल बन्द भएका हुन् । पसल सञ्चालनको अन्तिम दिन शनिबार पनि उपभोक्ताको बाक्लो भिड लागेको थियो ।
असोज १५ गतेदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसलबाट १ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको साल्ट ट्रेडिङ कर्पोरेसन धनगढी शाखाले जनाएको छ । चाडपर्वको समयमा सुपथ मूल्य पसलबाट ४० हजारभन्दा बढी उपभोक्ताले लाभ लिएका छन् ।