कोरोना संक्रमणले धनगढीका युवकको भारतमा मृत्यु
बोलन्या थली |
३ मंसिर २०७७, बुधबार
कञ्चनपुर । भारतको सुरतमा धनगढीका एक युवकको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–६ नजरिया टोल निवासी अन्दाजी ३५ वर्षीय टिकाराम कुँवरको भारतको सुरतमा हिजो मृत्यु भएको उनका आफन्त डन्डीराज सुबेदीले जानकारी दिए ।
गुजरात सुरतमा काम गर्दै आएका उनलाई करिब चार महिना अघि सङ्क्रमण पुष्टि भएको थियो ।सुरुमा सरकारी अस्पतालमा भर्ना भएका उनलाई उपचार हुन नसक्ने भन्दै पछि मिसन नामको निजी अस्पताल भर्ना गरियो । उनको उपचारका क्रममा साढे आठ लाख खर्च भइसकेको थियो ।
अस्पतालले थप ५ लाख रकम लाग्ने बताएपछि उनी सँग भएको पैसा सकिएका कारण धनगढीका युवाहरूले रकम सङ्कलन गर्न टिकाराम बचाउ अभियान सञ्चालन गरेका थिए । मृतकका श्रीमती र तिन साना छोरा छोरी छन् । करिब ४ महिनाअघि उनमा संक्रमण पुष्टि भएको थियो ।