आज तिहारको चौथो दिन गाई, गोवद्र्धन र गोरुको पूजाआजा गरी मनाइँदै

बोलन्या थली | ३० कार्तिक २०७७, आईतवार
आज तिहारको चौथो दिन गाई, गोवद्र्धन र गोरुको पूजाआजा गरी मनाइँदै

धनगढी : आज तिहारको चौथो दिन गाई, गोवद्र्धन र गोरुको पूजाआजा गरी मनाइँदैछ । तिथी घटबढका कारण आइतबार एकैदिन गाई, गोरु र गोबद्र्धन पूजा एकै दिन गर्न लागिएको हो ।

पहिलो दिन बिहीबार दीपदानमात्र गरिएको थियो । शुक्रबार कागपूजा गरिएको थियो । शनिबार बिहान कुकुर तिहार मनाइएको थियो भने साँझ लक्ष्मी पूजा गरिएको थियो ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ ।
गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।

यसैगरी आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोबद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोबद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोबद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको मानिन्छ ।

आजै वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुका साथै वर्षभर गोरु जोत्ने एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।

जनाअवजको टिप्पणीहरू