पटका रोक्न सीमामा प्रहरी परिचालन
कञ्चनपुर । तिहारका लागि भारतबाट लुकिछिपी अवैध रूपमा पटाका लगायतका विस्फोटक पदार्थ भित्र्याउन नदिन कञ्चनपुर प्रहरीले तालिम प्राप्त कुकुर सहित प्रहरी परिचालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले तिहार र छठ पर्वमा भारतीय बजारहरूबाट पटाकाहरू ल्याउन नदिन र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर धनगढीबाट तालिम प्राप्त कुकुर मगाएर सीमा, बजार र बसपार्क क्षेत्रमा खटाइएको जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार सीमाबाट पटाकाहरू भित्रिने सम्भावना रहने हुँदा हरेक दिन बिहान, दिउँसो र साँझ गरेर विभिन्न समयमा कुकुर परिचालन गरी जाँच गर्ने बताए ।
भारतसित सिमाना जोडिएको कञ्चनपुरमा चाडपर्वमा शान्ति सुरक्षा कायम गर्न प्रहरीले यहाँ सीमामा पहिलो पटक तालिम प्राप्त कुकुरसहितको जनशक्ति परिचालन गरेको हो ।जिल्ला प्रहरी कार्यालयको टोलीले एक साताअघि महेन्द्रनगर बजार क्षेत्रबाट रु डेढ लाख बराबरको ६ बोरा पटाका बरामद गरेको थियो ।