सुदूरपश्चिममा कोरोनाबाट चालकको मृत्यु


बझाङ । जिल्ला अस्पताल बझाङमा शनिबार मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जयपृथ्वी नगरपालिका -८ बारिल घर भएका एक २८ वर्षीय युवकको अस्पताल पुर्याएको एक घण्टामै मृत्यु भएको थियो ।
उनमा सास फेर्न गाह्रो हुनेलगायतका लक्षण देखिएकाले कोरोना संक्रमणको आशंकामा नमुना स्वाब संकलन गरी डडेल्धुरा अस्पतालको प्रयोगशालमा पठाइएको थियो ।
उनी गाडी चालक भएकाले विभिन्न ठाउँमा जाने क्रममा कोरोना सरेको हुनसक्ने भन्दै स्वाब संकलन गरिएको हो । उनको शनिबार बिहान १० बजे मृत्यु भएको जिल्ला अस्पताल बझाङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्दीप ओखेडाले बताए ।
उनी एक हप्तादेखि अस्वस्थ थिए । ती युवकको मृत्युपछि जिल्ला अस्पताल बझाङले सम्पूर्ण सेवा बन्द गरेको छ । चालकमा कोरोना देखिएपछि गाडी धनीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
गाडी धनीलाई पनि स्वास फेर्न गाह्रो हुने, ज्वरो आउनेलगायतका लक्षण देखिएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा रेफर गरिएको जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन डा. मिलन खड्काले बताए ।