बैतडीका शक्तिपीठमा मेला र बलि चढाउन रोक

बोलन्या थली | ७ कार्तिक २०७७, शुक्रबार
बैतडीका शक्तिपीठमा मेला र बलि चढाउन रोक

बैतडी । दशैंको अवसरमा सुदूपश्चिमकै सबैभन्दा बढी पशुबलि हुने बैतडीका शक्तिपीठहरुमा यस वर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाइएको छ।

यहाँ रहेका प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिर, उदयदेव भगवती मन्दिर, मेलौली भगवती मन्दिर, डिलाशैनी मन्दिर, त्रिपुरा सुन्दरी, रणशैनी मन्दिरलगायतका मन्दिरमा महाअष्टमी र महानवमीमा पशुबलि दिइन्छ। ती शक्तिपीठमा हुने जात्रा तथा मेलामा भारतबाट समेत दर्शनार्थी आउने गर्दछन्।

बैतडीको सबैभन्दा बढी पशुबलि हुने दशरथचन्द नगरपालिका–२ देहिमाडौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा यस वर्ष महाष्टमीको दिन लाग्ने मेलामा नित्य पूजाबाहेक अन्य कार्यक्रम नहुने भएको छ।

कोरोना भाइरसको जोखिम बढ्ने भएकाले नित्य पूजाबाहेकका अरु सबै क्रियाकलापमा रोक लगाइएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले जानकारी दिए।

महाष्टमीको मेलालाई मध्यनजर गरेर आज र भोलि दुई दिन देहीमाडौं बजार पूर्ण रुपमा बन्द गर्ने निर्णय समेत भएको देहीमाण्डौं बजार व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेन्द्रबहादुर बोहराले बताए। महाष्टमीको अवसरमा लाग्ने मेलामा कुनै प्रकारको भीडभाड नगर्न यस्तो निर्णय गरिएको हो।

जनाअवजको टिप्पणीहरू