असई गोविन्द र प्रहरी जवान रामबहादुरको हत्यामा संलग्न ७ जना अभियुक्त सार्वजनिक
बोलन्या थली |
४ कार्तिक २०७७, मंगलवार
धनगढी : कैलालीस्थित जुगेडाको अस्थायी प्रहरी बिटका इञ्चार्ज असई गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न ७ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न ७ जनालाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घटनामा संलग्न धनगढी उपमहानगरपालिका वडा नम्बर १० ३१ वर्षीय रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, २७ वर्षीय राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय दलराम राना र २५ वर्षका रामगोपाल राना छन् । प्रहरीले भारततर्फ सामान तस्करी गर्न लाग्दा अवरोध सृजना गरेपछि हत्या गरेको अभियुक्तहरुले स्वीकारेको जनाइएको छ । घटनामा संलग्न रहेका आशंकामा प्रहरीले ठुलो संख्यामा शंकास्पदहरुलाई पक्राऊ गरेको थियो ।
उनीहरुले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा ७ जनाको संलग्नता देखिएको जनाएको छ । गत शनिबार राती नियमित गस्तीमा खटिएका बेलामा बेपत्ता भएका अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका बिक र प्रहरी जवानको घाटीमा हतियार प्रहार गरि हत्या गरिएको थियो ।


