सीमा प्रहरी चौकी बहुलियाका सबै प्रहरीलाई कारबाही
धनगढी । धनगढी उप–महानगरपालिका १४ बहुलिया स्थित सीमा प्रहरी चौकी फूलवारीमा कार्यरत सबै प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नायब निरीक्षक गोपाल कार्की सहित १० प्रहरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली तानिएको हो । उनीहरुले पदको दुरुपयोग गरेको आरोप लागेको छ ।
भदौँ २८ गते सोही चौकीमा एक स्थानीय मृत अवस्थामा फेला परेका थिए । सो घटनामा समेत प्रहरीले लापरबाही गरेको ठहर गर्दै ३ प्रहरीलाई कारबाहीको सिफारिस गरिएको थियो । केहि समय अघि सोही प्रहरी चौकीमा एक थुनुवा माथि कुटपिट गरिएको समेत आरोप लागेपछि उनीहरूलाई जिल्ला झिकाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।
सो चौकीमा नयाँ प्रहरी टोलीलाई जिम्मेवारी दिइएको उनले जानकारी दिए । जिल्ला तानिएका १० जना माथि थप छानबिन हुने उनले बताए ।प्रहरीले लापरबाही बढेको, पदको दुरुपयोग गरेर जिल्ला तानिएको बताए पनि स्थानीयले भने तस्करसँग मिलेर असुली धन्दामा गरिरहेको आरोप लगाएका छन् ।