‘म विरुद्ध षड्यन्त्र भयो’ : कर्णाली प्रदेशका मुख्यमन्त्री शाही
काठमाडौं, २५ असोज । आफ्नै पार्टीका सांसदहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आफूविरुद्ध आफ्नै पार्टीका साथीहरुले षड्यन्त्र गरेको प्रतिक्रिया दिएका छन् । आफूले सबैभन्दा राम्रो काम गर्दापनि षड्यन्त्र भएको प्रतिक्रिया रिपोर्टर्स नेपाल डटकमलाई दिएका हुन् ।
उनले भने,‘म विरुद्ध षड्यन्त्र भयो । छापामार शैलीमा अविश्वासको प्रस्ताव आयो । मैले यत्रो राम्रो काम गरेको थिएँ । विकास र समृद्धिको लागि मैलेजति कसले काम गरेको छ ? सबै काममा म सफल मुख्यमन्त्री हु । मेरो प्रदेशमा जति काम कुनै प्रदेशमा भएको छैन् । मविरुद्ध पार्टीभित्रैबाट अविश्वासको प्रस्ताव आउनु दुर्भाग्य हो । विकास, सुशासन, समृद्धिको कुरामा हरेक कुरामा कर्णाली प्रदेश सफल छ ।’
मुख्यमन्त्री शाहीविरूद्ध उनकै दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेका छन्। आइतबार दिउँसो नेकपामा १८ जना सांसदले मुख्यमन्त्री शाहीविरूद्ध पार्टीको संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरूले नेकपा संसदीय दलका नेता मुख्यमन्त्री शाहीको सरकारले प्रभावकारी काम गर्न नसकेकाले जनस्तरमा पार्टीको उपस्थिति फितलो भएको आरोप लगाएका छन् । कर्णाली प्रदेश सभा नेकपामा ३३ जना सांसद छन्।