तीन अर्ब ७८ करोड लगानी भएको गेटा मेडिकल कलेजले पढाउने स्वीकृति पाएन
धनगढी : कैलालीको गेटा मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढेको ११ वर्ष बितिसकेको छ । भौतिक पूर्वाधार निर्माणमा तीन अर्ब ७८ करोड खर्च भइसकेको छ । तर, अध्यापन सुरु गर्न सरकारले चासो दिएको छैन ।
मेडिकल कलेजको कार्ययोजनाले यही वर्षदेखि अस्पताल र शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको थियो । तर, कुनै विश्वविद्यालयको सम्बन्धनमा वा छुट्टै प्रतिष्ठानको रूपमा सञ्चालन गर्ने भन्ने निक्र्यौल भएको छैन । कलेजको पूर्वाधार विकास निर्माण समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदका अनुसार सरकारले शैक्षिक कार्यक्रम सञ्चालनको ‘मोडेल’ बनाउन बाँकी रहेकाले शैक्षिक गतिविधि कहिलेबाट सुरु हुने भन्ने यकिन छैन ।
कार्यकारी निर्देशक साउदले यो वर्ष अस्पताल पनि सञ्चालन गर्न नसकिने बताए ।अर्को आर्थिक वर्षमा अस्पताल जसरी पनि सुरु गर्ने कार्यकारी निर्देशक साउदको भनाइ छ । कलेजका पूर्वाधारको समग्र प्रगति करिब ७५ प्रतिशत सम्पन्न भइसकेको उनले बताए । केही भवनको ‘फिनिसिङ’को काम भइरहेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा संरचना तयार हुने उनले बताए । ०७१ मा शिलान्यास भएको प्रशासनिक भवनको काम ९० प्रतिशत सकिएकोे छ । ‘साइड’ विवादका कारण यो भवनको काम लामो समय रोकिएको थियो ।
गेटामा रहेको ५१ दशमलव आठ हेक्टर क्षेत्रमा स्थापना हुने मेडिकल कलेजमा ६ सय शय्याको अस्पताल सञ्चालन गर्ने सरकारको लक्ष्य छ । समितिले सुरुमा एक सय ५० शय्याको अस्पताल सञ्चालन गर्ने जनाएको छ । यसलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने माग पनि उठ्न थालेको छ । यद्यपि, मेडिकल कलेज वा प्रतिष्ठान के बनाउने भन्ने तय भइसकेको छैन । नयाँपत्रीकाबाट