बझाङ घटनाबारे सभामुखलाई ध्यानाकर्षण


काठमाडौँ — बझाङ बलात्कार घटनाबारे सांसदहरुले सभामुख अग्नी सापकोटालाई ध्यानाकर्षण गराएका छन् । सुदूरपश्चिमका संघीय सांसदहरुले मंगलबार सभामुख सापकोटासँग भेट गर्दै हत्यामा संलग्नलाई कारबाही गर्न पहल गरिदिन भन्दै ध्यानाकर्षण गराएका हुन् ।
बझाङबाट प्रतिनिधि सभा सदस्य आशा कुमारी विक लगायतका सांसदहरुले सभामुख सापकोटालाई भेटेर बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही,घटनाको निष्पक्ष छानबिन र पीडित परिवारलाई उचित क्षतिपूर्तिका विषयमा ध्यानाकर्षण गराएका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाले उक्त घटनालाई आफूले गम्भीर रुपमा लिएको बताए । उनले यो घटनालाई राज्यले चुनौतीका रुपमा लिनुपर्ने बताए ।
सभामुख सापकोटाले जनता अन्याय, दमन र समस्यामा परेका बेला उनीहरुलाई साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको बताउँदै कानुनको प्रभावकारी कार्यान्वयनका लागि पहल जारी राख्न आग्रह गरे । उनले आफ्नोतर्फबाट समेत विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।