यी हुन् कोरोना बिरुद्धको खोप लगाउने पहिलो भाग्यमानी नेपाली
एजेन्सी, ४ असोज । कोरोना भाइरस अर्थात कोभिड-१९ बिरुद्धको खोप लगाउने सौभाग्य एक नेपालीले पनि पाएका छन् । शक्ति सम्पन्न मुलुकहरुबीच कोरोना बिरुद्धको औषधि बिकास गर्न प्रतिस्पर्धा चलिरहेको बेला रुसमा रहेका एक नेपालीले भने यसबिरुद्धको भ्याक्सिन लगाउने अवसर पाउनुभएकाे हाे ।
रुसले कोरोना भाइरस बिरुद्धको औषधि निर्माण गरिसकेको दावी गर्दै आम रुपमा भ्याक्सीन दिँदै आएको छ । सोही क्रममा विश्वमै पहिलो पटक निर्माण भएको कोरोना भाइरस बिरुद्धको भ्याक्सीन रुसमा कार्यरत डा. महेश श्रेष्ठले पाउनुभएको हो ।
श्रेष्ठ रुसको मस्कोस्थित कार्यरत नेपाली मुलका डाक्टर हुनुहुन्छ । उहाँ सल्यानमा जन्मिनु भएको थियो । ६१ वर्षीय डाक्टर श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको खोप लगाउनुभएको हो ।
उहाँले लक्की ड्रमा नाम परेपछि कोरोना भाइरस बिरुद्धको औषधि लगाउने अवसर पाउनु भएको हो । श्रेष्ठको नाम रसियन सरकारद्वारा अनलाइनमा लक्की ड्र गर्दा छानिएको थियो ।
उहाँले भ्यासीन लगाउनुभएको बारे गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले पुष्टी गर्नुभएको छ । भ्याक्सीन लगाएपछि डाक्टर श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । काेराेना भाइरस बिरुद्धको औषधि निर्माण गर्न चीन, अमेरिका, भारत र बेलायत जस्ता सम्पन्न मुलुकहरू लागी परिरहेका छन् ।