यदि कोरोना महामारी हुँदैनथ्यो त- मेलम्चीको पानी आउँथ्यो, धरहरा बनिसक्थ्यो : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण गत वर्ष कबुल गरिएका कतिपय काम सम्पन्न गर्न नसकिएको बताएका छन् । छैटौं संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले यदि कोरोना महामारी नआएको भए मेलम्ची खानेपनी आयोजना, रानीपोखरी पुनर्निर्माण, धरहरा पुनर्निर्माण लगयातका आयोजनाहरु सम्पन्न भइसक्ने दाबी गरे । साथै उनले कोरोना महामारीका कारण माथिल्लो तामाकोशी जलविद्युत आयोजना, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, निजी आवास पुनर्निर्माण को काम पूर्णरुपमा सम्पन्न गर्न नसकिएको बताए ।
उनले भने, ‘गत वर्ष आजकै दिन मैले सरकार सञ्चालनको १८ महिनामा भएका उपलब्धिको संक्षिप्त विवरण राखेको थिएँ । यदि कोरोना महामारी हुँदैनथ्यो भने आज गत वर्ष कबुल गरिएका कतिपय काम सम्पन्न भएको विवरणको चर्चा हुने थियो । केही राष्ट्रिय गौरवका आयोजनाहरु उद्घाटन हुने थिए । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हुने थियो । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उर्जा उत्पादन शुरु भएको हुने थियो । मेलम्चीको पानी आउन थालेको हुने थियो । रानीपोखरीको पुनर्निर्माण सम्पन्न भइसकेको हुने थियो । धरहरा निर्माणको कार्य सकिने थियो । निजी आवास पुनर्निर्माणको काम पूर्ण रुपमै भइसकेको हुने थियो ।’